सन्दकपुर । पूर्वी नेपालको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सवको तयारी तिब्र भएको छ । मंसिर १ गतेबाट ८ गतेसम्म आयोजना हुने त्रिधार्मिक पर्यटन उत्सवको तयारी तिब्र भएको छ ।

त्रिधार्मिक पर्यटन उत्सव सफल बनाउन सन्दकपुरबासीदेखि जनप्रतिनिधिहरु पनि सक्रिय रुपमा लागेका छन् । त्रिधार्मिक पर्यटन उत्सवको आयोजनास्थलमा पूवार्धार निर्माणको काम शूरु भएको आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले बताए ।

त्रिधार्मिक महोत्सवको सप्ताहा महायज्ञ हुने जमिन सम्याउने काम सम्पन्न गरि अन्य भौतीक संरचनाहरु निर्माणको काम थालिएको प्रचारप्रसार समिति संयोजक श्याम राईले बताए । धार्मिक उत्सवको समयमा आवश्यक पर्ने खानेपानी, विद्युत, यातायात पार्किङ, अथिति सत्कार र सुरक्षाको व्यवस्थाका लागि गर्ने काम अहिले तिब्र रुपमा भइरहेको आयोजक समितिले जनाएको छ ।

कार्यक्रमस्थलमा रङरोगनको काम पनि धमाधम भइरहेको समितिका सह–सचिव विनोद कुमार खतिवडाले बताए । १० लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ आयोजना हुने त्रिधार्मिक महोत्सवमा प्रचारप्रसारका काम पनि तिब्र भएको हो । धार्मिक तथा पर्यटन उत्सवमा नेपाल, भारत, भुटानसम्मका पर्यटक र भक्तहरुलाई आमन्त्रण गरिएको समितिका सचिव दिनेश सुवेदीले बताए ।

इलाम सदरमुकामबाट १७ किलोमिटरको दूरीमा रहेको रामसार क्षेत्र माईपोखरी जैविक विविधता, धार्मिक, पर्यटकीय दृष्टिले अत्यत्तै महत्वपूर्ण मानिएको छ । रामसार क्षेत्र माईपोखरी क्षेत्रमा कार्यक्रम सफल बनाउनका लागि सन्दकपुर गाउँपालिका संरक्षक बसेको छ । गाउँपालिकाका जनप्रनिधिहरुले आयोजक समितिको कामबारे अनुगमन पनि गरेका छन् ।

गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत यादव राउतले दैनिक रुपमा कार्यक्रमस्थलको कामको प्रगतिको अनुगमन गरिररहेको आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले बताए । कार्यक्रमको प्रगतिबारे सन्दकपुर २ अध्यक्ष सनम राई, १ का अध्यक्ष रहर राई, ३ का अध्यक्ष लिला बहादूर बुर्जा, ४ का अध्यक्ष ढाल बहादूर गुरुङ्ग, कार्यपालिका सदस्य छत्र दियालीले अनुगमन गरेका छन् । त्रिधार्मिक पर्यटन उत्सव सफल बनाउन सन्दकपूर ३ का वडासदस्य कमल निरौला दिनभर कार्यक्रमस्थलमा खटिएका थिए ।


