इलाम । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एवम गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको बायोपिक मुभी ‘अञ्जिला’ को छायांकन सुरु भएको छ । मुनलभ इन्टरटेनमेन्टले अञ्जिलाको गृह क्षेत्र सूर्योदय नगरपालिकाको आइतबारेबाट छायांकन सुरु गरेको हो । फिल्ममा ‘अञ्जिला’ पात्रको भूमिका अञ्जिला आफैले निभाउँदै छिन ।

बायोपिकका लागि उनले अभिनेत्री सिर्जना सुब्बासँग चार महिना अभिनय कला समेत सिकेकी थिइन । अञ्जिला मुख्य भुमिका रहेको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, हरि खड्का र विजय बरालको पनि अभिनय रहेको छ । मिलन चाम्सको निर्देशन रहेको फिल्मको मुख्य निर्माताको रुपमा सशस्त्र प्रहरी बल एपीएफका पूर्व एसपी प्रेमकुमार श्रेष्ठ रहेका छन । बिनोद अग्रवाल र राजेश बगडियाको समेत लगानी रहेको छ ।

निर्देशक चाम्सका अनुसार सोमबार माओत्से र सिर्जनाको दृश्यसँगै छायांकन शुरु भएको छ । माओत्सले अञ्जिलाको वास्तविक बाबु र सिर्जनाले आमाको भुमिका निर्वाह गरेका छन् । दयाहाङ र मिरुनाले मंगलबारदेखि अभिनय थाल्ने छन् । त्यस्तै अञ्जिालले तीन चार दिनपछि अभिनय थाल्नेछिन् ।

फिल्मलाई इलाम, झापा र काठमाडौंमा खिच्ने तयारी छ । इलाममा २६ दिन तथा काठमाडौंमा १९ दिनको छायांकन तालिका रहेको छ । फिल्ममा अञ्जिलाको बाल्यकालदेखि कप्तान बन्दासम्मको संघर्ष र यात्रा प्रस्तुत गरिनेछ । मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई आगामी चैत वा वैशाखमा रिलिज गर्ने योजना रहेको छ ।
