फिक्कल । गाई दूध प्रशोधनबाट उत्पादन हुने घ्यू बिक्रि नहुँदा इलामका डेरी उद्योग संकटमा परेका छन् । गत बैशाखबाट बजारमा घ्यूको माग नहुँदा इलामका हरेक डेरी उद्योगमा २ हजारदेखि ३ हजार किलो घ्यू स्टक रहेको छ ।
सूर्योदय नगरपालिका ३ पशुपतिनगरकी दावादिकी सेर्पाको डेरीमा उत्पादन भएको घ्यू बजारमा बिक्रि हुन सकेको छैन । महिलाहरुको पर्व तीजबाट छठ पर्वसम्म बजारमा घ्यूको माग अत्याधिक हुने गरेपनि अहिले दशैँमा पनि खासै चलेन ।

दैनिक ५० किलो बढी घ्यू उत्पादन भएपनि बिक्रि नभएपछि सेर्पाले काठमाडौँको कोल्डस्टोरमा पन्ध्रसय किलो राख्नुभएको छ । काठमाडौँ र पोखराका बजारमा घ्यू बिक्रि गर्ने इलामेली एग्रिकल्चर उद्योगको ३ हजार किलो घ्यू स्टोरमा छ । ७ सय ५० रुपैयाँमा बिक्रि हुँदै आएको घ्यू अहिले ७ रुपैयाँमा पनि बिक्रि नभएको प्रोपाइटर कौशीला राईले बताइन् ।

गाईको दूध प्रशोधनबाट तयार हुने घ्यू बिक्रि नहुँनु इलामका डेरी उद्योगको साझा समस्या हो । २०८० वैशाख यता नौनी घिउको उपभोक्ताबाट माग नै नआउँदा उत्पादित घ्यू त्यसै थन्क्याउनु परेको हो । जिल्लामा अहिले पन्ध्र सय भन्दा बढी डेरी उद्योगहरूले घ्यू उत्पादन गर्दै आएका छन् ।
बजारमा घ्यू को माग नहुँदा एक डेरी उद्योगमा कम्तीमा पनि दुईदेखि तीन हजार किलो नौनी घ्यू ‘स्टक’ रहेको हो । वैशाख महिना यता घ्यू बिक्रि नहुँदा उद्योगीले झापाका झापा र काठमाडौँका कोल्ड स्टोरहरुमा राखेका छन् ।

पशुहरूमा देखिएको लम्पी स्किन र सरकारले दूधको मूल्क एकैपटक १० रुपैयाँ वृद्धि गरेपछि मूल्य बढेका कारण घ्यू बिक्रि नभएको हो । अर्को कारण भारतबाट अबैध रुपमा नेपालमा घ्यू आयात भएका कारण नेपाली घ्यू स्टक भएको छ ।
व्यवसायीहरूले घिउ प्रतिकिलो ७ सय ५० रुपियाँदेखि ८ सय ५० रुपियाँ प्रतिकिलोसम्म मूल्य तोकेका छन् । तर अहिले ७ सय रुपैयाँमा बिक्रि गर्न चाहदा पनि बजारमा माग नभएको उद्योगीको भनाइ छ । घ्यू बिक्रि नहुँदा उद्योगीले दूधको मूल्य पुरै भुक्तानी दिन सकेका छैनन् ।