Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आहा ! सन्दकपुर :  चाडपर्व बिदामा घुमौँ 

आहा ! सन्दकपुर :  चाडपर्व बिदामा घुमौँ 

  • सुजन तिमल्सिना
  • शुक्रबार, कार्तिक १० २०८०


आहा ! सन्दकपुर :  चाडपर्व बिदामा घुमौँ 
सन्दकपुर । नेपाल, भारत, भुटान र चीनको तिब्बतका पाँच दर्जन हिमालको मनोरम दृश्य, असंख्य सिमसार, दर्जनौं प्रजातिका लेकाली फूल अनि दुर्लभ रेडपाण्डासँगको साक्षात्कार । यी सबै विशेषताको समीश्रण रहेको सन्दकपुर पर्यटकीय गन्तव्यको  अनुपम उदाहरण हो । कोशी प्रदेश घुम्न जानेहरूका लागि छुटाउनै नहुने गन्तव्य इलामको सन्दकपुर गाउँपालिका । गाउँपालिकाभित्र असंख्य पर्यटकीय गन्तव्य रहेका छन् ।
बहुमुल्य जडिबुटी बिख्मा अर्थात सन्दक्फुबाट अपभ्रंस भई सन्दकपुर नामाकरण भएको हो । पछि गाउँपालिकाको नाम पनि सोही पर्यटकीय गन्तव्य सन्दकपुरकै नाम राखिएको हो । सन्दकपुर गाउँपालिकाभित्र रहेका पर्यटकीय आकर्षणहरूमा प्रसिद्ध माइपोखरी, डम्बरसिंह सुनुवार बहुसाँस्कृतिक संग्राहालय, सात खाल्डे, टप्पु, छिन्टापु, जौबारी, गैरीबास, कालपोखरी, कैयाकट्टा, चोयाटार, ढापपोखरी, टोड्के, धप्पर, पाहा, छाँगे झरना, रेडपाण्डाको अध्यययन क्षेत्र चोयाटार, माबुथाम, टारीबेंसि लगायतका थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
सन्दकपुर इलाम जिल्लाको जिल्लाकै उच्च स्थान हो । जुन समुद्री सतहबाट ३ हजार ६३६ मिटरको उचाइमा  छ । साकेला, उधौली÷उभौली, दशैं तिहार, लोसार, मारुनी, संगिनी, बालन, हाकपारे केलांग, चण्डी नाच, हुर्रा नाचमा रमाउनका साथै फरक फरक जातीको चार्डपर्जमा रमाउन सकिन्छ । राई, लिम्बु, ब्राम्हण, क्षेत्री, शेर्पा, सुनुवार, तामाङ, थामी, गुरुङ, मगर, दमाई, कामी, भुजेल र भोटे जस्ता जातजातिको बसोबास रहेको छ ।
सन्दकपुरमा घुम्न आउने पर्यटकहरूका लागि प्रसस्तै होमस्टेहरू छन् । सामुदायिक रुपमा सञ्चालित ती होमस्टेहरूमा स्थानीय सागसब्जी तथा स्थानीय परिकारहरू चाख्न पाइन्छ । खाना र बस्ने सुविधासहितको सामुदायिक होमस्टेहरूमा प्रति दिन प्रतिव्यक्ति एक हजार रुपैयाँदखि २ हजारसम्म खर्च हुन्छ ।
माइपोखरी
माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सूचीमा सूचिकृत समेत भएको छ । साक्षात देवीका रुपमा मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिन्छ । माइपोखरी हिन्दु, बौद्ध, र किराँत, मुन्धुम सबै धर्मको आस्थाको केन्द्र हो ।  यहाँ हरेक वैशाख १, हरिबोधनी एकादशी र नवरात्रिमा विषेश पूजा तथा मेला लाग्ने गर्दछ । त्रिधार्मिकस्थल माइपोखरीको जल पिएमा प्रजनन् अंग सक्रिय हुने किम्बदन्ति रहेकाले यहाँ सन्तान प्राप्तिको भाकल गर्ने समेत प्रचलन छ । नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैँचे झ्याउ, उभयचर ठकठके, रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराचुरुङ्गी पाइन्छ ।  २ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माइपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा लगायत पाइन्छ ।
डम्बरसिंह संग्राहालय
प्रजातान्त्रिक आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका सन्तानलाई जीवन्त तुल्याउन ६ दशक अघिबाट चट्टान काट्न थालेका स्वर्गीय डम्बरसिंह सुनुवारले ढुङ्गा कुँदेर यहाँ विभिन्न आकृति बनाएका थिए । प्रजातान्त्रिक योद्धा र सुरक्षा फौजबीच २०१८ माघ २ को भिडन्तमा डम्बरसिंहका १२ वर्षीय छोरा डिकबहादुर र डेढ वर्षीया छोरी ओममायालाई सुरक्षाफौजबाट प्रहार भएको बमले क्षतबिक्षत बनाएको थियो ।
उनै सन्तान गुमाउनुको पीडालाई मनमा संगाल्न नसकेका डम्बरसिंहले अन्ततः ठूला ठूला ढुङ्गाहरू फोरेर मृत नावालक सन्तानको आकृति कुँद्न थाले । बुकी फूल्ने रुखो डाँडोमा रहेको सुनुवारको कलाकृति उनको  निधनपछि गाउँपालिकाले संग्राहालय बनाउने तयारीमा छ । ऐतिहासिक जानकारी राख्न चाहनेहरूका लागि पनि यो संग्रहालय उत्तम गन्तव्य हुन्छ ।
सात खाल्डे
२०१९ सालमा सुरक्षा फौजले आफैँ खाल्डो खन्न लगाई त्यही खाल्डोमा प्रजातान्त्रिक योद्धाको हत्या गरेको थियो । सोही समयदेखि यस ठाउँलाई सात खाल्डेको रुपमा चिनिँदै आइएको छ । देउराली बजारको नजिकै पश्चिमपट्टि रहेको सात खाल्डेमा अहिले तीनै सहिदहरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको   छ ।
टप्पु क्षेत्र
गाउँपालिकाको वडा न १, २ र ३ को सीमा क्षेत्रमा टप्पु क्षेत्र अवस्थित छ । पर्यटकीय महत्वले निकै महत्वपूर्ण रहेको यस क्षेत्रबाट  टप्पु पुगिन्छ । टप्पु क्षेत्र टप्पुबाट हिमश्रङ्खलाहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । हिउँदमा बाक्लो हिमपात हुने यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन् केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ ।
छिन्टापु
जैविक विविधता तथा प्रकृतिले सिंगारिएको छिन्टापुमा वसन्त ऋतुमा डाँडा पाखाभरि लालीगुराँस राताम्ये फूल्दछन् । छिन्तापुको काखैमा रहेको पोखरीहरूमा कंचनजङ्गा, कुम्भकर्ण हिमालको दृश्य आकर्षक देखिन्छ ।
सन्दकपुर
परापुर्वकालमा लेप्चा जातिको बसोबास रहेको सन्दकपुरलाई लेप्चा भाषामा सन्दक्फु भनिन्छ । महाभारतको अग्लो डाँडा रहेको सन्दकपुरमा परापूर्वकालनमा सन्त, ऋषिमुनिहरुले ध्यान गर्दथे । ऋषिमुनिहरु ध्यान गरिरहेको अवस्थामा पुरिएकाले सन्तपूर नाम राखिएको किम्बदन्ति छ । सन्तपूरबाट अपभ्रंष भई अहिले सन्दकपुर नाम रहेको कथन छ ।
सन्दकपुर  प्राकृतिक मनोरमको दृष्टिले निकै महत्वपूर्ण छ । नेपाल, भारत, भुटान र तिब्बतका ६० बढी हिमाललाई १ सय ८० डिग्रीको सोझो सतहमा अवलोकन गरिने सन्दकपुर दक्षिण एसियाकै एक मात्र ठाउँ हो । हिमश्रङ्खलालाई अंगालो हालेजस्तै आँखा अगाडि सूर्योदय र सूर्यास्तको दृश्यमा सन्दकपुरबाट रमाउन सकिन्छ । सन्दकपुरमा ५ वर्षअघिसम्म भारत भएर मात्रै हजारौँ पर्यटन आउने गरेका थिए । संघीय, प्रदेश र स्थानीय सरकार सन्दकपुर गाउँपालिकाले सडक, पदमार्ग र पर्यटन पूर्वाधार निर्माण गरेपछि नेपाल पट्टिबाट सन्दकपुर भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ ।
कालपोखरी
कालपोखरी क्षेत्रमा शेर्पा समुदायको बसोबास छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको पोखरीको रङ कालो हुने भएकाले वस्तीको नाम कालपोखरी राखिएको जानकारहरू बताउँछन् । कालपोखरी सन्दकपुर वडा नम्बर ४ मा पर्दछ ।  गाउँले जिवन्त रहनसहन र साँस्कृतिक सम्पदाको अध्ययन गर्न सकिने कालपोखरी क्षेत्र नेपाल र भारत दुवैतिरबाट सन्दकपुर भ्रमणका लागि आउने पर्यटकको संगमस्थल, हो ।
जौबारी
मोति झैँ टल्किने हिमाल र सूर्योदयको मनोरम दृश्यमा रम्न सकिने जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका  पर्यटकहरूको गन्तव्यस्थल बनेको छ । जौबारीमा सेता बादल तथा हिउँदमा पर्ने हिमपात निकै आकर्षक देखिन्छ । हिमाली क्षेत्रमा पाइने दर्जनौँ प्रजातिका जडिबुटी, असंख्य चराहरु, नेपाल र भारतका मनोरम दृश्यहरुले जौबारी पुग्ने जो कोहीको मन लोभ्याउँछ ।
सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्क र आलुबाली तथा बागबानी विकास केन्द्र जौबारीमा पुनः स्थापना गरेपछि जौबारी कृषि क्षेत्रमा लाग्ने किसानको अध्ययन अवलोकन केन्द्र समेत बनेको छ ।
माबुथाम डाँडा
सन्दकपुर गाउँपालिकाको अर्को पर्यटकीय गन्तव्यस्थल हो माबुथाम डाँडा ।  प्राकृतिक, जैविक विविधताको दृश्यावलोकन र लोपउन्मुख वन्यजन्तु रेडपाण्डा हाब्रेको बासस्थल हो माबुथाम दोबाटे क्षेत्र । बहुमूल्य प्राकृतिक जडिबुटीको अध्ययन स्थल पनि भएकाले यस क्षेत्रको महत्व अझै विशेष छ ।
हाँगेथाम
सन्दकपुर वडा न ५ जमुनाको हाँगेथाम  प्रकृति, सस्कृति, वन्यजन्तु र चराचुरुङ्गीहरुको अध्ययन अनुसन्धान क्षेत्र हो । पूर्वमा हाँगेथाम जंगलमा मात्रै पाइने विश्वमै दूलर्भ काँडेभ्याकुर चराको अध्ययन अनुसन्धान गर्न वर्षेनी पक्षिविद्हरु आउने गरेका छन् । हाँगेथाममा अमेरिकी वन्यजन्तु विज्ञ ब्राइम विलियमले २ दशक अघि सात महिना लामो रेडपाण्डाको अध्ययन गरेका थिए । हाँगेथाम क्षेत्र पछिल्लो दिनमा बनभोज स्थल बन्दै गएको छ । हाँगेथाम डाँडैमा झण्डै दुई सय वर्ष पुरानो ऐतिहाँसिक दोमाङ्ग छोलिङ बौद्ध गुम्बा समेत छ ।
टोड्के झर्ना
सन्दकपुर झरनाहरूको समेत केन्द्र हो । २ सय ८५ फिट अग्लो माईमझुवाको टोड्के झर्ना नेपालको दोस्रो अग्लो झरना हो । जुन सन्दकपुरमै पर्दछ । सन्दकपुर वडा नम्बर २ मा रहेको टोड्के झर्नाको रोमाञ्चित दृश्य वडा नम्बर ४ को सायङ्बागाउँबाट पनि मञ्जाले देखिन्छ । जलाधारको खानी सन्दकपुर गाउँपालिका क्षेत्रका धप्पर झरना र पाहा खोला झरना अर्को पर्यटकीय गन्तव्यस्थल हो ।
कृषि पर्यटन
किवीको खेतीमार्फत सन्दकपुर गाउँपालिकाले कृषि पर्यटनको समेत विकास गरिरहेको छ । पूर्वी नेपालमा नै पहिलो पटक व्यवसायिक किवी खेती गरि सन्दकपुरले पर्यटन आकर्षित गरिरहेको छ । किवी जोन कार्यक्रम नै सञ्चालन भइरहेकाले त्यहाँ किवीको अध्ययन, अनुसन्धान तथा अवलोकनका लागि नेपाल, भारत, भुटान लगायतका मुलुकहरूबाट पर्यटकहरू सन्दकपुर आउने गरेका छन् ।
कसरी पुग्ने ? सन्दकपुर 
काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झापाको भद्रपूर विमानस्थल र इलामको विमानस्थलसम्म जहाजमा जान सकिन्छ । भद्रपुरमा हरेक दिन विभिन्न कम्पनीहरूले जहाज उडाउने भएपनि इलामका लागि भने हरेक आइतबार नेपाल वायुसेवा निगमको जहाज उडान हुन्छ ।
भद्रपुरबाट ८३ किमीको दूरीमा रहेको इलाम पुग्नका लागि बसमा करिब तीन घण्टा लाग्छ । इलाम बजारबाट बिब्ल्याँटे, माइपोखरी हुँदै माइमझुवाबाट सन्दकपुर जान सकिन्छ । इलाम बजारबाट १३ किमीको दूरीमा रहेको माइपोखरीसम्म बसमा जान सकिन्छ । माइपोखरीबाट माइमझुवा हुँदै गोरुवाले वा कालपोखरीबाट पैदलयात्रा गर्दै करिब ८ घण्टामा सन्दकपुर पुग्न सकिन्छ । भारततर्फबाट दार्जिलिङको मानेभञ्ज्याङदेखि सन्दकपुर ३६ किमीको ट्रेकिङ पदमार्ग छ । भारततर्फबाट सन्दकपुर भ्रमणका लागि सोही पदमार्गमार्फत आउन सकिन्छ ।
कति खर्च लाग्छ ?
सन्दकपुर घुम्न जाने पर्यटकहरूले हवाइजहाजको भाडाबाहेक करिब १५ हजार रुपैयाँमा सहजै सन्दकपुर घुम्न सकिन्छ । ट्रेकिङ गर्ने हो भने अधिकतम १० हजार खर्च हुन्छ । ट्याक्सि रिजर्भ गरेर जाने हो भने अधिकतम १६ हजारसम्ममा सन्दकपुर पुगेर खर्किन सकिन्छ । ट्याक्सिले अघिल्लो दिन सन्दकपुर पु¥याएर भोलिपल्ट इलाम बजारसम्म ल्याउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार