इलाम । झापाबाट पूर्वी पहाडी जिल्ला जोड्ने मेचीराजमार्ग जिर्ण हुँदा सर्वसाधारणको दशैँ यात्रा कष्टकर बनेको छ । सडक पुनः स्थापनाको ठेक्का लिएर ठेकेदारबाट अलपत्र छोडिदा इलामको जोरकलसबाट फिक्कलसम्मको यात्रा कष्टकर बनेको हो । राजमार्गको सय मिटर फरकमा कच्चि सडकमा झै खाल्टा खुल्टि छन् । बाक्लो खाल्टा खुल्टीले साना सवारीसाधन गुडाउन सकस पर्छ । ठुला सवारीसाधनका यात्रू ट्रयाक्टरमा चढेको अनुभुति गर्छन् ।

यो कथा झापाबाट पूर्वी पहाडका तीन जिल्ला जोड्ने मेची राजमार्गको हो । इलाम झापाको सीमा क्षेत्र जोरकलसबाट उकालिएपछि पहाडको यात्रा गर्ने हरेक यात्रु र सवारीचालकले यस्तै समस्या भोग्नुपर्छ । सडक पुनःस्थापनाको ठेक्का लागेपनि ठेकेदारबाट मर्मत पुरा भएन । मर्मतको काम नहुँदा अहिले मेची राजमार्गको यात्रा कच्चि सडकको भन्दा फरक छैन । जसले गर्दा साना ठुला सवारीसाधन र यात्रुले विगत तीन वर्षदेखि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको रोङ गाउँपालिका कुटिडाँडाका राम राईले बताए ।

रोङ गाउँपालिकाको जोलकलसबाट सूर्योदय नगरपालिकाको फिक्कल बजारसम्म मेचीराजमार्ग जिर्ण छ । यो सडक खण्डमा मर्मतका लागि ठेक्का लगाएको तीन वर्ष अघि नै हो । तर ठेकेदारले काम पुरा गर्न नसकेपछि ठेक्का तोडिएको छ । ठेकेदारले गरेको काम पनि गुणस्तरहिन हुँदा अहिले सडक पुरानै अवस्थामा पुगेको हो ।जोरकलसबाट फिक्कल बजारसम्मको दुरी २२ किलोमिटर छ ।

तर सडकको दुराअवस्थाले २२ किलोमिटर पार गर्न डेढ घण्टा लाग्छ । मेची राजमार्गको पर्यटकीय क्षेत्र कन्याम, फिक्कल बजार, हर्कटे, पाथिभरा, कुटिडाँडा, अर्याल चौकमा सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । राजमार्गमा ठुलठुला खाल्डा हुदा साना सवारीसाधन संचालनमा समस्या रहेको कन्यामका पर्यटन व्यवसायी टिका ओडारीले बताए ।

झापाको चारआलीबाट पर्यटकीय क्षेत्र भ्रमण गर्न साना सवारीसाधनमा फिक्कलसम्म पर्यटक पुग्ने गरेका छन् । सवारीसाधनको चाप बढी हुने क्षेत्रमा सडकको दुराअवस्थाले गर्दा सवारी दुर्घटना समेत बढेको छ ।
