Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा पाइने ठकठके : प्रजनन् समयमा जलचरको शिकार गर्छ

इलाममा पाइने ठकठके : प्रजनन् समयमा जलचरको शिकार गर्छ

  • सुजन तिमल्सिना
  • बुधबार, असोज १७ २०८०


इलाममा पाइने ठकठके :  प्रजनन् समयमा जलचरको शिकार गर्छ

इलाम । पुच्छ्रे उभयचर उप–वर्ग अडर काउडेटा पर्ने प्रजाति मध्य स्यालामान्ड्रिडी परिवारको एउटा प्रजाति टाइलोटोट्रिटन भेरुकोसस अर्थात हिमाली स्यालामान्डर हो । पानीमा बस्ने सानो साइजको गोहोरो जस्तो, पुच्छर चुलेसीको जस्तो धार ठाडो धार परेको साथै कराउँदा ठक–ठक गर्ने हुन्छ । यसको बसोबास फैलावट उत्तरमा पाँचथर जिल्लाको इथुङ वा सुकेपोखरी, दक्षिणमा कन्याम कुवापानी, पूर्वमा जमुना साथै पश्चिममा धनकुटा जिल्लाको राजारानी पोखरी सम्म पुगेको छ ।
‘हाम्रो देशको लागि यो प्रजाति यूरेसिया भूभाग प्यालेर्टिक रिजन बाट प्राप्त कोसेली हो भने सुइमा सिसिलिएन दक्षिणी गोलार्ध भारतीय उप–महाद्वीप बाट प्राप्त कोसेली हो । यी दुई प्रजातिहरुको अपूर्व मिलन इलामको कन्याम सिमसारतिर भएको थियो ।’

संरक्षणविद डा केआर खम्बु भन्छन् ‘यही भू–पेटीको संवेदनशील बिन्दु हट स्पोट भन्दा तलतिर न ठकठके झर्यो, न सुइमा त्यो क्षेत्र भन्दा उँभोतिर लाग्यो । यस्तो एकमात्र मौलिक विशेषता बोकेको पारिस्थितिक प्रणालीलाई पुर्नस्थापना गर्न सके यो क्षेत्र देशकै एक महत्वपूर्ण जैविक विविधताको लागि ‘जिवित सङ्ग्राहलय लिभिङ म्युजियम बन्न सक्ने थियो ।’ नेपालमा खासै संरक्षण नगरिएको यो जीवलाई दार्जिलिङको सुकिया पोखरीस्थित जोर पोखरीमा विशेष संरक्षण दिएर राखिएको छ । स्यालामयानडर्रिडे’ परिवार अन्तर्गत पर्ने ठकठकेलाई पानी छेपारो, पानी गोहोरो नामले पनि चिनिन्छ । यो हेर्दा पनि छेपारो, माउसुली वा गोहोरोजस्तो देखिन्छ । यो जीवको शरीर लाम्चो र रङ्ग खैरो हुन्छ । टाउको च्याप्टो र पुच्छर धरिलो जस्तो देखिन्छ ।

ठकठकेको थुतुनोदेखि पुच्छरसम्मको औसत लम्बाई ५।३ इन्चदेखि ६।७ इन्च लामो हुन्छ । यस जीवको पिठ्युँको दुबै किनारामा लहरै गिर्खा भेटिन्छ ।​ हालसालै हेर्पेटोलोजिस्ट तपिल प्रकाश राईको टिमले प्रकाशित गरेको शोधपत्र ‘एन अपडेटेड चेकलिस्ट अफ एम्फिबियनस् एन्ड रेपटाईल्स् अफ नेपाल’ अनुसार नेपालमा जम्मा ५७ प्रजातिको उभयचर पाइन्छ । त्यसमध्ये एक हो ठकठके । हेर्पेटोलोजिस्ट केआर खुम्बु, जनकराज खतिवडा, विवेक गौतम लगायतले पनि यसको जीवनबारे अनुसन्धान गरेका छन् । नेपालमा पाइने ठकठकेको प्रजातिको वैज्ञानिक नाम ‘टाईलोटोट्रिटन हिमालाएनस’ हो ।

मुख्यतः जमेको पोखरीमा बस्न रुचाउने यो जीव रातको समयमा बढी सक्रिय हुन्छ । यसले जागेको समयमा पटक पटक ‘ट्वाक, ट्वाक, ट्वाक’ आवाज निकाल्ने गर्छ । यसले आफ्नो प्रजनन् समयमा जलचरको शिकार गर्छ भने बाँकी अवधिमा थलचरको शिकार गर्छ । चेपागाँडा, सेतो पतेरो, लेउ, च्याउ, झुसिलकीरा, झ्याउँकिरी आदि यसको आहार प्रजाति हुन् । यो जीव मुख्यत चैत–वैशाखतिर प्रजननको लागि पानीतिर सर्छ र यसले जेठ असारतिर आफ्नो फुल पार्छ । यो जीव नेपालको पूर्वी भेग ईलाम, पाँचथर जिल्लामा पाइने अभिलेख छ ।

यो जीव अनौठो छ तर यसको संरक्षण भने हुन सकेको छैन । विगत केही वर्षदेखि ठकठकेमा अनुसन्धान गर्दै आएका हेर्पेटोलोजिस्ट विवेक गौतमका अनुसार मानवीय गतिविधिले गर्दा यस जीवको संख्या घटिरहेको छ । यो जीव पाइने पूर्वका माई पोखरी, हंस पोखरी र धारापानी पनि रहेको अनुसन्धान पत्रले देखाएको छ । चिया खेती, सिमसार क्षेत्रको परिमार्जन, पोखरीमा डुङ्गा चलाउने गतिविधि, पोखरीमा मिचाहा प्रजातिको माछा हाल्ने, जलप्रदुषणका कारण यो जोखिममा परेको छ । पोखरी घुम्न आउनेहरुले पनि यस जीवलाई जथाभावी समातेर दुःख दिने र मार्ने गरेको पाइएको छ ।

यो जीवको मासु खाए ढाड दुखेको समस्या समाधान हुने अन्धविश्वास छ, त्यसले गर्दा पनि केही मानिसले यसको सेवन गर्छन् । राम्रो देखिने भएकाले यसलाई विदेशमा घरमा पाल्ने गरिने भएकाले पनि यसको अवैध ओसारपसार पनि हुने गर्छ । यस जीवको संरक्षण गर्ने हेतुले यसको लागि प्रजनन संरक्षण रणनीति ‘हिमालएन न्यूट ब्रिडिङ्ग प्रोजेक्ट मास्टर प्लान’ बनेको थियो तर त्यो कार्यान्वयन भएन । यस जीवबारे दिगो अनुसन्धान हुन पनि बाँकी छ ।

यी सबै कुरालाई मध्यनजर गरेर स्थानीय सरकार, सम्बन्धित निकायले यसको संरक्षणको लागि स्थानीय जनतासँग हातेमालो गरेर कार्ययोजना बनाउनु आवश्यक छ । यस अनौठो जीवलाई संरक्षण गर्न सके पर्यटन तथा अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार