विराटनगर । चुलाचुली नाट्य समूह आफ्नो नयाँ नाटक ‘झोडा’ दर्शकमाझ लिएर आउने तयारीमा छ । पूर्वाभ्यास र नाटकका लागि अरु तयारीको अन्तिम चरणमा समूह जुटेको छ । नाटक प्रारम्भिक चरणमा असोज २६ गतेदेखि ३० गतेसम्म किरात भवन रायालि सेवा संघ दमकको हलमा प्रदर्शन हुनेछ । उपन्यासमा आधारित नाटकको परिकल्पना एवं निर्देशन चेतन आङथुपोले गरेका छन् ।
आङथुपो मोफसलमा नाटकलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयत्नमा तल्लीन छन् । एक दशकभन्दा लामो समय उनले गाउँको रंगकर्ममा बिताइसकेका छन् । ‘आकाश गंगाको ओतमुनि’ उपन्यासलाई सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेका छन् । आङथुपोका अनुसार पूर्वमा पैसा तिरेर नाटक हेर्ने संस्कार सुरु भइसकेको छ । यसले नाटक बिस्तारै व्यावसायिक बन्न थालेको संकेत गर्ने उनको भनाइ छ ।
लाहुरे बन्ने र विदेश गएर मनग्य पैसा कमाउने सपनालाई त्यागेर उनी गाउँमै नाटकको विकासमा जुटेका छन् । उनी यसपटक गायक, संगीतकार गणेश रसिकको उपन्यासलाई आधार मानी तयार गरिएको नाटक ‘झोडा’ निर्देशन गर्दै छन् । नाटकको व्यवस्थापनमा सूर्य लिम्बुको भूमिका छ भने नाटकका निर्माता सुरेश माङपाहाङ राई छन् । उनी पहिले जनवादी गायक बनेर गीत गाउँदै गाउँ गाउँमा हिँडेको स्मरण गर्छन् । हाल आएर नाटक ‘झोडा’ को टिमसँग उनी जोडिएका छन् ।
नाटकमा आफूले प्रत्यक्ष देखे, भोगेका कुराहरु वास्तविक जीवनका चित्रणहरु समेटिएका कारण पनि निर्माता बनेर काम गर्ने हुटहुटी जागेको उनको भनाइ छ । झोडा, मुख्यतः जग्गा आवाद, त्यसको राजनैतिक स्वामित्व र अधिकार प्राप्तिको संघर्षमा केन्द्रित विषय हो । विशेषतः सुदूर पूर्वमा आदिमकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरुलाई नाटकमा मुख्य पात्रका रुपमा उभ्याइएको छ ।
स्थायी रुपमा भौगोलिक विकेन्द्रीकरणको अभ्यास तथा नयाँ आवादमा सरकार र राजनैतिक दलहरुले भुपू सैनिकहरुलाई झोडामा जग्गा दिलाइदिने प्रलोभनमा पारी कसरी प्रयोग गरे, राजनैतिक भुँमरीमा परी उनीहरुले के कति मूल्य चुकाउनु पर्यो रु आदिवासी भूमि पुत्रहरु कसरी सुकुम्बासी भए रु राजनैतिक स्वार्थले आफ्नो समुदायबीच कसरी फाटो ल्यायो रु र आदिवासी जनजाति प्रतिको दृष्टिकोण भूमि स्वामित्वको लागि गर्नु परेको संघर्ष र सुकुम्बासी समस्या नाटकको मूल विषय वस्तु हो ।