सन्दकपुर (इङ्ला) । रेडपाण्डा अध्ययन अनुसन्धानको केन्द्र इलामको सन्दकपुर ५ स्थित इङ्ला चोयाटार वन क्षेत्र चराहरुको अध्ययन केन्द्र बन्दै गएको छ । विश्वभरका पर्यटक र अध्ययनकर्मीलाई आकर्षित गरेको इङ्ला चोयाटार वन क्षेत्रले अहिले चराविज्ञको ध्यान तानेको छ ।

रेडपाण्डाको सजिलै अवलोकन गर्न सकिने चोयाटार क्षेत्रमा नेपाल, भारत, भुटानसँगै युरोपका पर्यटक र अध्ययनकर्मी पुग्ने गरेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने चोयाटार वन क्षेत्र पछिल्लो समय चराहरुको अध्ययन गर्न आउने चराविज्ञ र अध्ययनकर्ताको केन्द्र बनेको छ । भारतपट्टि सिंहलिला सरक्षित क्षेत्र रहेकाले सहजै वन्यजन्तु र चराहरुको आवातजावत हुने गरेको छ ।

नेपाल पट्टिको चोयाटार लगायतका वन क्षेत्रमा लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, कालोभालु लगायत थुप्रै प्रकारका चराहरुको बासस्थान रहेकाले अहिले चराविज्ञहरु पनि आउने गरेको सन्दकपुर ५ का वडासदस्य कुमार गुरुङले बताए ।

सयौँ प्रकारका चराहरुको बासस्थानको क्षेत्र रहेको सन्दकपुर–५, इलामका वन क्षेत्रमा प्रकृति, वन्यजन्तुप्रेमीहरु विश्वभरबाट आउन थालेको गुरुङले बताए । पछिल्लो पटक झापा निवासी चरा अध्ययनकर्मी देवेन्द्र खरेल नेतृत्वको टोलीले चोयाटार सामुदायिक वनमा चरा र वन्यजन्तुको ३ दिन अध्ययन गरि फर्किएको छ । टोलीमा सन्दिप लुइटेल र अंकुश लोहनी रहेका थिए ।

३ दिनको खोज अध्ययनमा ६२ प्रजातीका चरा, ३ किसिमका सर्पको प्रमाण, ३ किसिमका भ्यागुत्ताका प्रजातीको अध्ययन भएको अध्ययकर्मी देबेन्द्र खरेलले बताए । चोयाटार रेडपाण्डा पर्यटनसँगै चरा पर्यटनको रुपमा विकास गर्न सकिने उनले बताए । नेपाल भरीमा पाइने फुलबुट्टा परिवारका ४ वटै चरा यही सामुदायिक वन क्षेत्रमै पनि भटियो ।

यात्राबाट सम्पूर्ण चरा तथा प्रकृतीप्रेमीका निम्ति विशेषगरी पूर्वी नेपालमा मात्रै पाइने फुलबुट्टा परिवारको एक विशेष चरा पाइएको खरेलले बताए । मेचि चरा तथा वन्य जन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल तथा वन्यजन्तु अनुसन्धान कर्ता सन्दिप लुइटेल र अंकुश लोहनिको चोयाटार सामुदायिक वन क्षेत्र भ्रमण चरा र वन्यजन्तु अध्ययन अनुसन्धानमा ठुलो सहयोग पुगेको सन्दकपुर ५ का वडा सदस्य कुमार गुरुङले बताए ।
टोलीले स्थानीय बासिन्दाहरुसँग चरा र वन्यजन्तु संरक्षणबारे अध्ययन अनुसन्धान गरेको थियो । चोयाटार नजिकैको जौबारी क्षेत्र लोपउन्मुख गिद्धको बासस्थानको क्षेत्र हो । जौबारीमा गिद्धको अध्ययन समेत गर्न सकिन्छ ।