Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

वन इलामको, दोहन झापाको

वन इलामको, दोहन झापाको

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २८ २०८०


वन इलामको, दोहन झापाको

झापा : दक्षिणी इलामको माइ नगरपालिका–८ मा पर्ने एउटा सामुदायिक वन संरक्षणको जिम्मा झापाको काँधमा छ । वन ऐन २०४९ र वन ऐन २०७६ मा राजनीतिक सीमाले सामुदायिक वन गठन गर्न बाधा नपर्ने उल्लेख छ । दक्षिणी इलामका चुलाचुली, माई, माङ्सेबुङ र रोङका सामुदायिक वन झापासँग जोडिन्छन् । माइको सतासीधाम सामुदायिक वनलाई शिवसताक्षी–८ का उपभोक्ताले संरक्षणको जिम्मेवारी लिँदै आएका छन् । तर, पछिल्लो समय समितिका पदाधिकारीकै मिलेमतोमा यो चुरे वनमा चरम दोहन भइरहेको छ ।

वन जोगाउने मुख्य दायित्व पदाधिकारी र सदस्यकै हुन्छ । तर, सतासीधाम वनका पदाधिकारी संरक्षणमा भन्दा पनि दोहनतिर बढी सक्रिय बनेको पाइएको हो । ‘पदाधिकारीहरु रुख काट्ने बेलामा जाने तर संरक्षणमा नखट्ने देखियो,’ जिल्ला डिभिजन वन कार्यालयका प्रमुख दानवहादुर श्रेष्ठले भने, ‘झापाका उपभोक्ताले इलामको वनलाई रेखदेखभन्दा पनि दोहन वढी गरेको पाइयो ।’

गत जेठ, असार र साउनमा अनाधिकृत कटान गरिएको १७ थान सखुवाको रुख फेला पारियो । तर, रुख अझै धेरै कटान गरिएको दाबी स्थानीय उपभोक्ताहरुको छ । सतासीधाम सामुदायीक बनका संस्थापक अध्यक्ष जगतवहादुर श्रेष्ठ (गोपाल) ले भने,‘भुल्के क्षेत्रमा काटिएका १० थान रुख गन्तीमा आएको छैन ।’

संस्थापक अध्यक्ष श्रेष्ठले २४ वटा साखु जातको ठाडो र काँचो रुख काटेको भन्दै जिल्ला वन कार्यालयमा भदौ १५ गते किटानी जाहेरी दिएका थिए । जिल्ला वन कार्यालय इलामले प्रारम्भिक चरणमा ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

अध्यक्ष हेमवहादुर थापा, सामुदायिक वनका परिषद् सदस्य बहादुर थापा, टोल नं। ८ का टोली प्रमुख शेरबहादुर बुढाथोकी, कार्यालय सचिव केदार भट्टराई, प्राविधिक सुमन राई र धनबहादुर राई तथा ट्रयाक्टर चालक पदम तामाङलाई पक्राउ गरी कारवाहीको प्रक्रिया अघि बढाइएको छ । उपाध्यक्ष खेम वुढाथोकी र लेखा समितिको संयोजक इन्द्र प्रसाईसहित तीन फरार छन् ।

‘बुढाथोकी र प्रसाई जीहरु झिलझिले वजारतिर खुलेआम घुमिरहनु भएको छ,’ संस्थापक अध्यक्ष श्रेष्ठले भने, ‘उहाँहरुलाई किन पक्राउ नगरिएको हो थाहा छैन ।’ डीएफओ श्रेष्ठका अनुसार अभियुक्तहरुलाई गत भदौ १८ गते इलाम जिल्ला अदालत पेश गरिएको थियो ।

अभियुक्तहरुको बयान लिने क्रम जारी छ । ‘२४ वटा रुख काटेको भनिएपनि १७ वटा मात्रै फेला परेको छ,’ डीएफओ श्रेष्ठले भने, ‘भेटे जति कार्वाहीको दायरमा लगिएको छ । अरु पनि खोजी जारी छ ।’

डीएफओ श्रेष्ठका अनुसार ढलापडा रुख काटिनु सामान्य मानिएपनि नियत राखेर सग्ला साखु जातका रुख काटिनु चाहिँ गम्भीर विषय हो । ‘सामुदायिक वनलाई कटान दिएको बेला उपभोक्ता सबै जंगल तिरै भएका बेला चोरी नहोला भन्ने बुझाइ थियो । तर विपरित परिणाम देखियो,’ श्रेष्ठले भने,‘ यही मौकामा चोरी तस्करी गर्न सहज भएको देखियो ।’

राष्ट्रिय अनुसन्धान विभागसँगै वनले गरेको अनुसन्धानका क्रममा अध्यक्ष थापाकै मिलेमतोमा रुख काटिएको पुष्टी भएको छ । ‘अध्यक्षले नै गल्ती स्वीकारेका छन्,’ श्रेष्ठले भने, ‘फरार उपाध्यक्ष बुढाथोकीको योजनामा रुख काटिएको हो ।’ दक्षिणी इलामको वन क्षेत्र मिलेमतोमा सकिँदैछ । चुरेको वन तस्करी इलामको दीर्घकालीन समस्या रहेको डीएफओ श्रेष्ठले बताए । ‘तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन’, उनले भने, ‘झापा र इलाम दुवैतिरका तस्करहरु मिलेर वन समाप्त पार्दैछन् ।’

इलामको चुरे क्षेत्रका सामुदायीक वनको लामो सयमदेखि चरम दोहन भइरहेको छ । इलामका वन सखाप पारेर काठ र गोलिया रातारात झापा झारिन्छ । यो कार्यमा झापा र इलामका तस्करीहरुको संगठीत सन्जाल नै सक्रिय छ । तस्करीको काठ गाडी, मोटरसाइकल, साइकललगायतमा लोड गरेर झापातिर झारिन्छ । कतिपय अवस्थामा भने माइ खोलामा बगाएर पनि काठ झापा झारिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार