सामाजिक सञ्जालमा पछिल्लो समय धरान अलि बढी चर्चामा रह्यो । मन्दिर अगाडि चर्च बनेको विषयदेखि गोरु काटेर खाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धरानमा सद्भाव भड्किएको हल्ला व्यापक फैलियो । सामाजिक सञ्जाल देखि धरान बाहिरका सडकमा विभिन्न आलोचना पनि भयो । निश्चित धर्म र सम्प्रदाय धरानमा सुरक्षित छैन भन्ने हल्ला पनि चलाइयो । तर, बाहिर हल्लामा आएको जस्तो स्थिति भने धरानमा थिएन ।
धरान शान्त थियो । आफ्नै गतिमा थियो । तर, बाहिरबाट हेर्दा धरान अशान्त छ भन्नेमा भ्रम भने बाँकी नै थियो । ‘धरान अशान्त छ’ भन्ने भ्रम चिर्न एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशले पूर्वी नेपालका प्रभावशाली नेता तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई धरानको कार्यक्रमको मुख्य वक्ता बनाएर बोलायो ।
संयोगले त्यही कार्यक्रम नेम्वाङका लागि जीवनको अन्तिम सार्वजनिक कार्यक्रम बन्न पुग्यो । नेम्वाङले भदौ २३ गते धरानमा युवा संघ कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला युवाहरूलाई गरेको सम्बोध नै अन्तिम सम्बोधन भयो । उनको आज हृदयघातका कारण ७१ वर्षको उमेरमा काठमाडौंमा निधन भयो ।
पहिचान सम्बद्ध संगठनको विरोधका बाबजुद युवा संघले प्रदेशस्तरीय कार्यक्रम धरानमै राखेको थियो । कोशी प्रदेश नामकरणमा असन्तुष्ट पक्षले एमालेको कार्यक्रमलाई बिथोल्ने प्रयाससमेत गरेका थिए । तर, युवा संघले भने धरानमै कार्यक्रम सम्पन्न गर्यो । युवा संघ कोशी प्रदेशका अध्यक्ष अरुण गुरुङले भने, ‘धरान शान्त छ भन्ने सार्वजनिक सन्देश पनि दिनु थियो, त्यसैले धरानमा कार्यक्रम राखेका थियौँ ।’
गुरुङका अनुसार खासमा धरानमा अधिवेशन गर्ने भन्ने विषय डेढ महिना अगाडि नै तय भएको थियो । ‘त्यसपछि मात्र धरानको विषयको विवाद सामाजिक सञ्जालमा देखिन थालेको हो’, गुरुङले शिलापत्रसँग भने, ‘हुन त हाम्रो कार्यक्रम पूर्वनिर्धारित थियो । सामाजिक सञ्जालमा विवाद बढ्दै गएपछि धरानमा नगर्ने हो कि भन्ने पनि भएको थियो । तर, कार्यक्रम धरानमा नगर्दा गलत सन्देश जान सक्छ भन्ने भयो र धरानमै कार्यक्रम गर्यौँ ।’
धरान शान्त छ भन्ने सन्देशसँगै, पहिचानको नाममा एमालेमाथि प्रहार भएको भन्दै नेम्वाङलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गराउने रणनीति युवा संघले लियो । ‘एमालेलाई लखेट्ने गरी आन्दोलन पहिचानको आन्दोलन भयो,’ सुनसरी एमालेका एक नेताले भने, ‘त्यसैलाई काउन्टर गर्नेगरी उहाँलाई ९नेम्वाङ० बोलाउन उचित हुन्छ भन्ने थियो ।’
नेम्वाङले धरानमा भनेका थिए– सबै जना एकै ठाउँमा उभियौँ
नेम्वाङलाई धार्मिक सांस्कृतिक विषयमा जोडेर आलोचना गर्नेहरू दुई किसिमका छन् । पहिलो, उग्र दक्षिणपन्थी । जसले नेम्वाङलाई ‘धर्मनिरपेक्षता जबरजस्त घुसायो’ भन्छन् । दोस्रो, उग्र वामपन्थी तप्का, जसले नेम्वाङलाई ‘वर्चस्वशाली समूदायको पक्षमा लागेर उत्पीडित समूदायलाई थप उत्पीडित बनाएको’ वा अर्को शब्दमा भनौँ ‘पहिचानको विपक्षी’ भन्ने आरोप लगाइरह्यो । यी दुवै विषयमा उदाहरणसहित नेम्वाङले खण्डन गरेका थिए त्यसदिन । धरानको कार्यक्रमअघि एक सार्वजनिक कार्यक्रममा हिन्दू धर्म विरोधी भन्नेहरूलाई जवाफ दिएका नेम्वाङले धरानमा भने आफूलाई पहिचान विरोधी भन्नेहरूलाई जवाफ दिएका थिए ।
उनले गरेको अन्तिम भाषणमा एमालेलाई पहिचान विरोधी भनेर हल्ला पिटाएको भन्दै खण्डन गरेका थिए । एमाले पहिचानवादी पार्टी भएको बताउँदै, एमालेकै पहलमा किराँतका महान् गुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको तर्क नेम्वाङको थियो । ‘हामीले घोषणा गरेका हौँ धर्मनिरपेक्षता । समावेशिता हामीले बनाएका हौँ । अनि यो ठाउँमा शिर ठाडो पारेर, छाती फुकाएर, विनम्रतापूर्वक म आग्रह गर्न चाहन्छु किराँतहरूका महागुरु फाल्गुननन्दलाई यो देशको राष्ट्रिय विभूति मेरो पहलमा, हाम्रो पार्टीको पहलमा, हाम्रो पार्टीको नेतृत्वको पहलमा हामीले घोषणा गरेका हौँ । महागुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किराँतहरूको मात्र नभएर सिङ्गो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरु हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचान विरोधी भन्न मिल्छ ?’
‘पहिचानको, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौँ त्यति अरूले गरेका छैनन् । धर्मनिरपेक्षता कसको नेतृत्वमा भयो रु २०६३ जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो । त्यो संसद्को सर्वसम्म सभामुख म थिएँ । त्यहाँबाट धर्मनिरपेक्षता घोषणा भयो । सुवासले खुसुक्क धर्मनिरपेक्षता घुसाइदियो पनि भने । त्यसताका केही साथीहरू चुनावमा पनि पुगेका थिएँ । यसपालि त दक्षिणबाट पनि आउनुभएको थियो रे धर्मनिरपेक्षता भन्ने सुवासलाई हराउनुपर्छ भनेर । को साथी हुन् ? के हुन् ? कुनै दिन तपाईँहरूसँग समय लिएर अलिक व्यापक रूपमा भनौँला ।’
नेम्वाङले त्यसदिन कुनै दिन समय लिएर व्यापक भनौँला भने पनि अब उनले केही भन्ने छैनन् । उनले यो संसारबाट विदा लिइसकेका छन् । बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्येष्टि हुँदैछ । शिलापत्र