इलाम । नेपाली कागज बनाउने कच्चा पदार्थ अर्गेली खेतीमा किसानको आकर्षण बढेको छ । इलामको लेकाली क्षेत्रका किसानले लोप हुन लागेको अर्गेलीको खेती विस्तार गरि त्यसको बोक्रा निकाली बिक्रि गर्दै आएका छन् ।

अर्गेलीको बोक्रा नेपाली कागज बनाउन प्रयोग गरिन्छ । अर्गेलीबाट जापानिज यान बनाउन प्रयोग हुने भएकाले नेपालबाट जापान निर्यात बढ्दो छ । नेपाली कागज बनाउन प्रयोग हुने अर्गेलीको आन्तरिक र बाह्य बजार पनि राम्रो हुँदै गएपछि किसानले खेती विस्तार गर्न थालेका छन् ।

५ वर्ष अघिसम्म लेकाली पाखा बारीमा कमै मात्रै अर्गेलीको खेती हुन्थ्यो । अर्गेलीको बोक्राको माग बढेसँगै अहिले किसानले खेती विस्तारलाई प्राथमिकता दिएका हुन् । अर्गेली अहिले किसानले नगदेवाली झै खेती हुँदै आएको सन्दकपुर २ का वडासदस्य अमृत राईले बताए ।

इलामका १० मध्ये ७ वटा स्थानीय तहका लेकाली पाखाबारीमा किसानले खेती गर्दै आएका छन् । लेकाली क्षेत्रका किसानको प्रत्येक परिवारको एक अर्गेली बगान रहेको छ । परम्परागत रुपमा खेती हुँदै आएको अर्गेली अहिले उच्च पहाडी क्षेत्रका किसानको नगदेवाली नै भएको सन्दकपुर २ अध्यक्ष सनम राईले बताए ।

उच्च पहाडी क्षेत्रका किसानले आफ्नो बगानबाट २ सय किलोसम्म अर्गेलीको रेसा संकलन गर्दै आएका छन् । अर्गेलीको रेसा प्रतिकिलो ४ सय देखि ६ सय रुपैयाँसम्म बिक्रि हुने गरेको छ । अर्गेलीको रेसा संकलन गर्दा ग्रामीण क्षेत्रमा रोजगारीका अवसर पनि थपिएका छन् । अर्गेलीको रुख काटेर बफ्याएर रेसा संकलनमा एक टोलमा ३० जनासम्मले बर्षको ३ महिनासम्म रोजगारी पाउने गरेका छन् । व्यवस्थापनका लागि समुदायमा हस्तान्तरण गरिएका वन, राष्ट्रिय वन बाहेक अहिले किसानस्तरमा यसको व्यवसायीक खेती बढ्दो रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।