Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

७० वर्षपछि फिक्कल नयाँबजार सडक प्रदेश सरकारबाट कालोपत्रे (तस्बिरहरु)

७० वर्षपछि फिक्कल नयाँबजार सडक प्रदेश सरकारबाट कालोपत्रे (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बुधबार, साउन २४ २०८०


७० वर्षपछि फिक्कल नयाँबजार  सडक प्रदेश सरकारबाट कालोपत्रे  (तस्बिरहरु)

इलाम ।  ट्रयाक खनिएको ७० वर्षपछि इलामको फिक्कल–नयाँबजार सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । भारतको सीमा क्षेत्र जोड्ने सडक कालोपत्रे सुरु भएपछि इलामको उत्तरी ३ स्थानीय तहका बासिन्दा खुशि भएका छन् ।


प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा फिक्कल नयाँबजार सडक कालोपत्रे शुरु भएको थियो । फिक्कल नयाँबजार सडक खण्डको १० किलोमिटर सडक अहिले कालोपत्रे भइसकेको छ । २० किलोमिटर २ सय मिटर सडक कालोपत्रे गर्ने ठेक्का संझौता अनुसार ५ सय मिटर आरसिसि ढलान पनि सकिएको हो । सडक खण्डको ९ किलोमिटर ५ सय मिटर सडक अहिले कालोपत्रे गर्ने गरि वर्षातका कारण रोकिएको छ । सडक वर्षात सकिएपछि अशोज कात्तिकमा कालोपत्रे सक्ने निर्माण व्यवसायी डिल्लि खनालले बताए ।


सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ । सडक कालोपत्रेले तीनवटा स्थानीय तहका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । ५३ करोड रुपैयाँको लगानीमा कालोपत्रेको काम थालिएको फिक्कल–नयाँबजार–जौबारी सडकको वित्तिय प्रगति ६० प्रतिशत रहेको छ ।


सडक कालोपत्रेपछि सूर्योदय नगरपालिका, माइजोगमाइ र सन्दकपुर गाउँपालिकाबासीलाई प्रत्यक्ष फाइदा पुग्नेछ । पर्यटकको आवतजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकले उत्तरी इलामका बासिन्दालाई ठुलो सहयोग पुग्ने माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादूर थेवेले बताए ।
२०१० सालमा तत्कालिन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा सडकको ट्रयाक खोलिएको थियो । २०७६ मंसिरमा निर्माण सम्झौता भएको सडक झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वय हुँदै आएको छ ।


सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ । प्रत्यक्ष रूपमा भारतसँग जोडिने यो सडकका कारण भारतीय पर्यटक बढ्ने विश्वास गरिएको छ ।


कोशी प्रदेश सरकारले ५३ करोडको लगानीमा कालोपत्रेको काम सुरु भएको सडक कालोपत्रको कामले गति लिएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । सडक कालोपत्रे भएपछि बाह्रै महिना यातायात सुचारु हुने भएपछि यहाँ उत्पादित कृषिजन्य उत्पादनलाई भारतको बजारसम्म पुर्याउन सहज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार