इलाम । राष्ट्रिय जनमुक्ति पार्टीले आज लिम्बुवान क्षेत्र बन्दको कार्यक्रम राखेको छ । तत्कालीन गोर्खा राज्यले लिम्बुवान राज्यको सार्वभौमसत्ता हरण गरेको भन्दै साउन २२ गतेलाई कालोदिनको रुपमा मनाउन आज लिम्बुवान बन्दको कार्यक्रम राखेको पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङ्वाले बताए ।
जनमुक्तिले भनेको छ, ‘वि सं १८३१ साउन २२ गते गोर्खा राज्यले छलकपटपूर्ण सन्धिमार्फत् लिम्बुवानको सार्वभौमसत्ता हरण गरेको हो ।’ त्यहि कारण आजको दिनलाई लिम्बुवान क्षेत्रमा कालो दिनको रुपमा उल्लेख गर्ने गरिएको अध्यक्ष पालुङ्वाले बताए । साउन २२ गतेको दिनलाई कालोदिनको रुपमा मनाउन आज १ दिने शान्तिपूर्ण बन्दको अपिल गरेको बताइएको छ ।
जनमुक्ति पार्टी सहित ७ दलिय घटक पार्टीले बन्द आवाहन गरेको हो । बन्द साँझ ५ बजेसम्म रहने पार्टीले जनाएको छ । बन्दका कारण कोशी प्रदेशका ९ जिल्लामा सामान्य प्रभाव रहेको छ ।