Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

भोलिसम्म छलफल टुंगो लाग्छ : इन्द्र आङ्बो

भोलिसम्म छलफल टुंगो लाग्छ : इन्द्र आङ्बो

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन १४ २०८०


भोलिसम्म छलफल टुंगो लाग्छ : इन्द्र आङ्बो

विराटनगर : काठमाडौंमा ३ दलका शीर्ष नेताहरुले कोशी प्रदेशका संसदीय दलका नेताहरुसँग गरेको छलफल सकिएको छ। सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका हुन्।

बालुवाटारमा भएको छलफलमा भोलिसम्म छलफल टुंगो लाग्ने माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। उनले छलफलमा राप्रपा सकारात्मक नभएपछि भोलिसम्ममा टुंगो लगाउने निष्कर्षमा पुगेको बताए ।

‘केही छलफल भएको छ, राप्रपाको सकारात्मक जवाफ आएको छैन, त्यसो हुँदा भोलिसम्ममा टुंगो गरौँ भन्ने निष्कर्षमा पुगेको छौँ‚ ’ उनले भने। मुख्यमन्त्रीमा तपाईंको पनि दाबी हो भन्ने प्रश्नमा उनले आफ्नो दाबी नरहेको समेत बताए।

उनले भने, ‘मैले दाबी पेश गरेको छैन, सामान्यतया भोलिसम्ममा छलफल गरौँ, जो जसको नाममा बहुमत पुग्छ उसैलाई मुख्यमन्त्री बनाउँला भन्ने आधारमा पुगेका छौं तर निष्कर्षमा भने पुगेका छैनौँ।’ कोशी प्रदेशमा यतिबेला सर्वोच्चको फैसलाले काँग्रेस संसदीय दलका नेता उद्धव थापाको मुख्यमन्त्रीमा नियुक्तिलाई बदर गरिदिएसँगै नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन्।

थापा २१ असारमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सरकार गठनका लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो। साथै १७ गतेभित्र संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न परमादेश दिएको थियो।

सोहीअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले १६ गते अपराह्न ५ बजेसम्म दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार