काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने भष्टाचारीलाई बचाउन १२० जना वकिलले झुटो बहस गरेको आरोप लगाएका छन्। आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद केसीले दिनलाई रात नबनाउन चेतावनी दिएका छन्।
‘नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरूले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउने षडयन्त्र गरिरहेका छन्।’ केसीले भने, ‘कतिसम्म उनीहरूको तर्क आएको छ भने गृहमन्त्रीले प्रहरीलाई अपायकमा सरुवा गरेको हुनाले प्रहरीले झुटो मुद्दा लगाएको भनेर यस किसिमले दिनलाई रात बनाउने षडयन्त्र भएको छ। यो नेपाली जनताले पनि हेरेका छैनन्। यसभन्दा पहिलाका ठूला ठूला भ्रष्टाचारहरुलाई यो देशको सरकारले यसैगरी थामथुम पार्ने र भ्रष्टाचारीहरुलाई पैसाकै लागि उम्काउनका लागि जुन कालोकोटेहरुले दुस्साहस गरिरहेका छन्। यसमा दूधको दूध पानीको पानी होस्।’
यो मुद्दाको थुनछेक आदेश आउने तयारी भइरहेका बेला पूर्वउपप्रधानमन्त्री केसीले यस्तो प्रतिक्रिया दिएका हुन्। बबरमलस्थित जिल्ला अदालत काठमाडौंमा न्यायधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दिउँसो थुनछेक बहस सकिए पछि संघीय संसद भवन नयाँ बानेश्वरमा अध्यक्ष केसीले यो मुद्दाबारे बोलेका हुन्।
न्यायाधीश न्यौपानेको इजलासले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा रिहा गर्ने आदेश गर्नेछ। आजै बेलुकीसम्ममा थुनछेक आदेश आउने प्रवक्ता दीपक दाहालले थाहाखबर जानकारी दिएका छन्। आज अन्तिम दिन सरकारी वकिल र जाहेरीकर्तातर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका थिए।