Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

बजेट निर्माण र राजश्वबारे सन्दकपुर ५ मा गाउँपालिकाद्धारा जनतासँग सम्बाद (तस्बिरहरु)

बजेट निर्माण र राजश्वबारे सन्दकपुर ५ मा गाउँपालिकाद्धारा जनतासँग सम्बाद (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २९ २०८०


बजेट निर्माण र राजश्वबारे सन्दकपुर ५ मा गाउँपालिकाद्धारा जनतासँग सम्बाद (तस्बिरहरु)
सन्दकपुर । इलामको सन्दकपुर ५ का सर्वसाधारणले उत्पादनका आधारमा भुमि कर संकलन हुनुपर्ने बताएका छन् । जनताले भोगचलन गर्दै आएका सबै जमिनहरुबाट समान उत्पादन दिन नसक्ने भएकाले उत्पादनका आधारमा सरकारले भुमि कर लागउनुपर्ने बताएका हुन् ।
सन्दकपुर गाउँपालिकाले जनतासँग प्रत्यक्ष अन्तरसम्बाद गरि प्राथमिकताका आधारमा योजना छनौट र कार्यान्वय गर्ने निति लिएपछि वडा नम्बर ५ मा  अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिमा संकलन हुने आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन लिन सबै वडाबाट प्रत्यक्ष सुझाव संकलन गर्ने योजना रहेको छ । सोहि योजना अनुरुप सन्दकपुर गाउँपालिका ५ को पर्यटकीय क्षेत्र ढापपोखरीमा गाउँपालिकाले जनतासँगै प्रत्यक्ष अन्तरक्रिया र सुझाव संकलन गरेको हो ।
सन्दकपुर गाउँपालिका राजश्व शाखाकाको आयोजना सन्दकपुर ५ को वडा कार्यालयमा सुझाव संकलनको काम सम्पन्न भएको वडा सदस्य कुमार गुरुङ्गले बताए । गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष यज्ञ बहादूर गुरुङ्गको अध्यक्षतामा भएको अन्तरक्रिया र सुझाव संकलनमा वृद्धिजिवी, उद्योगी, व्यवसायी, जनप्रतिनिधि, राजनितिक दलका नेता, कर्याकर्ता, किसान र श्रमीकहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया र सुझाव संकलन कार्यक्रममा राजश्व परामर्श समितिका सचिव तथा राजश्व शाखाका प्रमुख भुपेन्द्र कट्टेलले राजश्वको दर, दायरा, क्षेत्र, आयश्रोत वृद्धिमा जनताबाट गरिनुपर्ने सहयोग र गाउँपालिकाले बनाउनुपर्ने नितिका बारेमा जानकारी गराएका थिए ।
अन्तरक्रियामा सहभागिले जनताको सुझावका आधारमा कर निर्धारण र योजना छनौटको काम गरि गाउँपालिकाको विकासमा सबैको अपनत्व विकास गर्ने योजनाका साथ कार्यक्रम आयोजना गरिएको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए । कर वृद्धि भन्दा पनि दायारा फराकिलो बनाउने योजना रहेको उनले प्रष्ट पारे । विकासका लागि कर संकलन गर्नुपर्ने बाध्यता छ, यसलाई वृद्धि गर्न सबैखाले उद्योगी व्यवसायीलाई करको दायरामा ल्याउने तर करको दर वृद्धि नगर्ने उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
अन्तरक्रियामा बोल्दै राजश्व परामर्श समितिका सदस्य तथा सन्दकपुर वडा नम्बर ३ का अध्यक्ष लिल बहादुर बुर्जाले गाउँपालिकाले आन्तरिक श्रोत संकलनको लक्ष्य पुरा गर्न नसकेका कारण जनतासँगै प्रत्यक्ष सम्बाद गरि सबै जनताको अपनत्व हुने गरि छलफल गरि पालिकाको विकास गर्ने लक्ष्य लिएको बताए । उनले भने– हामीले करको दर वृद्धि गर्दा राम्रो देखिदैन, दायरा बढाउँदा सबै राज्यको निकायमा पुग्ने भएकाले जनताका माग अनुसारको योजनाहरु कार्यान्वयनमा पनि सहज हुनेछ । त्यसैले गाउँपालिका र जनतालाई पनि फाइदा पुग्ने वडाध्यक्ष बुर्जाको भनाइ थियो ।
अन्तरक्रियामा उपस्थितलाई स्वागत मन्तव्य राख्दै सन्दकपुर ५ का वडासदस्य कुमार गुरुङ्गले जनप्रनिधि जनताका सुझाव संकलन गर्ने योजनाका साथ गरिएको कार्यक्रमले पालिका र जनताबिचको दुरी कम गर्ने बताए । उनले भने–जनताको मतबाट निर्वाचित भएपछि पुनः ५ वर्षपछि मात्रै जनताका सुझावा सुन्दा दुरी बढ्ने भएकाले हरेक वर्ष जनताका आवश्यकता जनताबाटै माग गरि प्राथमिकताका आधारमा कार्यान्वय गर्ने कुरा उदाहरणिय काम भएको बताए ।
अन्तरक्रियामा बोल्दै सन्दकपुर ५ का अध्यक्ष यज्ञ बहादूर गुरुङ्गले जनताको माग र आवश्यकतालाई जनताकै प्रत्यक्ष सहकार्यमा बजेट निर्माण गर्ने र करको दर निर्धारण गरि अघि बढ्दा सहज जनप्रतिनिधि र जनताबिचको हातेमालो बलियो हुने बताए । उनले भने–जनप्रतिनिधि र जनताबिचको सहकार्य मार्फत सन्दकपुर गाउँपालिकाले अब विकासको गति लिन्छ ।
अन्तरक्रियामा नेपाली काग्रेसका नेता प्रदिप भट्टराईले पालिका विकासका लागि कर संकलन अनिवार्य भएपनि आम्दानी र औचित्यका आधारमा दर निर्धारण हुनुपर्ने बताए । उनले राजश्व संकलनबाट पालिकाको विकास हुने भएकाले  सन्दकपुरबासीलाई कर शिक्षा कार्यक्रम प्रदान गरिनुपर्ने बताए । अन्तरक्रियामा सफल व्यवसायी पदम भट्टराईले चर्को कर संकलन हैन, करको दायारा फराकिलो बनाएर आयश्रोत वृद्धि गर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ इलामका सल्लाहाकार तथा पर्यटनकर्मी सुजन तिमसिनाले सन्दकपुरको अर्थतन्त्र विकासको आधार कृषि, पर्यटन र पशुपालन निर्धारण भएकाले तिनै क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव   दिए । ढापपोखरीबाट रामसार क्षेत्र माईपोखरी, जौबारीबाट कालपोखरीसम्म जोड्ने पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेकाले ति पदमार्गमा प्याकेज निर्माण गरि पर्यटक भित्र्याउन लागि वडा र गाउँपालिका लाग्नुपर्ने तिमसिनाको भनाइ थियो ।
अन्तरक्रियामा नेकपा एमालेका डिक बहादुर गुरुङ्ग, सन्दकपुर गाउँपालिका निर्वतमान कार्यपालिका सदस्य सिदार्थ राई, जमुना स्वास्थ्य चौकी इञ्चार्ज भुपेन्द्र, सुजमा संस्थाको उपाध्यक्ष छलिमाया गुरुङ्ग, कार्यपालिका सदस्य सुनिता धमाला, वडासदस्य राजु खाम्दाक, भगवति माविका प्रधानाध्यापक धमेन्द्र चौहान, जनता समाजवादीका नेता दर्पण गुरुङ्ग, समाजसेवी इन्द्र बहादूर गुरुङ्गले सुझाव प्रस्तुत गरेका थिए ।
५ वटै वडामा हुने आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन कार्यक्रमको समापन पछि बिषयगत रुपमा पनि जनतासँग प्रत्यक्ष सम्बाद गर्ने गाउँपालिकाको योजना छ ।
गाउँपालिकाले ३० गते वडा नम्बर ३ मा ३१ गते वडा नम्बर ४ र ३२ गते वडा नम्बर १ मा अन्तरक्रिया तथा सुझाव संकलनको काम हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार