इलाम : कारागारमा भएको विकृति र विसंगति हटाएर सुधार केन्द्रको रुपमा विकास गर्न इलामका प्रमुख जिल्ला अधिकारीले कारागार सुधार मार्गचित्र २०८० अनुरुप काम थालेका छन् । कारागार भित्र तास खेल्ने मदिरा सेवन गर्ने र दिउसै कैदीबन्दी फरार हुने जस्ता घटना घटेपछि इलाम कारागार भित्र थप सुधारको प्रयास गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीले मार्गचित्र अनुसार सोमबारदेखि कारागार भित्र सहकारी मोडलमा सहकारी पसल संचालन गरेको जानकारी दिएका छन् । एउटै सुरक्षा घेरा भित्र कसैले कमाउने कसैले गुमाउने स्थिति नहोस भनेर कैदीबन्दीका लागि एउटै मुल्यमा सामग्री उपलव्ध गराउन यस्तो पसल संचालन गरिएको प्रजिअ श्रवण कुमार पोख्रेलले बताए ।यसअघि कारागार भित्र नाइके र चौकीदारले संचालन गरेको पसलमा एउटा अण्डा पनि ५० रुपैया तिरेर खानुपर्ने बाध्यता रहेको पाइएको थियो ।
यस्तो मोडेलमा पसल सचालन भएपछि मुल्य पनि सस्तो पर्ने र सवै कैदीबन्दीले समान मुल्यमा सामग्री उपभोग गर्न पाउने उनले जानकारी दिए । ‘कारागारका सवै कैदीबन्दी मिलेर मुल्य निर्धारण गर्ने र उपभोग गर्ने भएपछि सवैलाई समान हक लागू हुन्छ । विचमा विचौलियाले मुनाफा आर्जन गर्ने कुरै हुदैन’ । प्रजिअ पोख्रेलले भने । सवै कैदीबन्दीको आमभेलाबाट उनीहरुको सुझावका आधारमा यो मोडल संचालन गरेको उनले बताए ।

कैदीबन्दीहरुले पहिलेको भन्दा कारागारभित्र धेरै सुधार भएको बताए । शोषणरहित कारागार निर्माणमा यो एउटा मोडलको रुपमा विकास हुने उनले विश्वास व्यक्त गरे । ‘यस्तै नाफाको व्यापार नहुने र गैर नाफा मुलक भएकाले कुनै पनि चौकिदार या नाइकेले मात्र मुनाफा गर्ने भन्ने कुरा हुदैन ।’ पोख्रेलले भने
मार्गचित्रको दोस्रो काम अनुसार कैदीबन्दीले मासिक सेवा सुविधा पारदर्शी ढंगबाट कारागारकै कर्मचारीको प्रत्यक्ष संलग्नतामा वितरण गर्ने र त्यसको भिडियो जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजबाट प्रसारण गर्ने रहेको छ । कैदीबन्दीले पाउँदै आएको सिदामा समेत अन्य व्यक्तिले लाभ लिएको गुनासो मध्यनजर गर्दै प्रजिअले अवदेखि उक्त मोडल अनुसार मासिक सेवा सुविधा वितरण गरिने र पारदर्शी बनाइने उल्लेख गरे ।
विचौलिया रहित सेवा प्रवाहको बारेमा कारागार सुधार मार्गचित्रका लागि प्रजिअ पोख्रेलले पटक पटक कारागारको अवस्थाबारे कैदीबन्दी र कारागार प्रशासनसँग बसेर छलफल गरेका थिए । त्यहाँबाट आएका गुनासो र सुझावलाई सम्बोधन गर्दै उनले मार्गचित्र तयार पारेका हुन । यो मार्गचित्र सफल भएमा अन्यत्र पनि सरकारले लागू गर्न सक्ने उनको भनाई छ ।
इलाम कारागारमा हाल दुइ सय ७६ जना कैदीबन्दी रहेका छन् । यसमध्ये २० जना महिला छन् । कारागारमा भलिवल, क्यारेमबोर्ड पुलहाउस, बास्केटबल जस्ता खेलकुदका गतिविधि हुने गरेका छन् । यस्तै यहाँ मुडा बुन्ने, ढाका बुनाई र कटिड. व्यवसाय पनि संचालन हुदै आएको छ । कैदीबन्दीको प्रत्यक्ष रोजगारीका लागि भएको उद्योगको बजार अभावका कारण उचित मुनाफा आर्जन हुन नसकेको उनले बताए ।
केहि कैदीबन्दीले औषधी र अत्यावश्यक खानेपानी आपुर्ति नभएको गुनासो गरेका छन् ।