फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका—४ वडा कार्यालयले गाउँगाउँमा गएर घुम्ती शिविर संचालन कार्य अघि बढाएको छ । वडा कार्यालय भन्दा टाढा रहेको क्षेत्रका जनताहरुलाई सेवामा सहजताका लागि शिविर संचालन गरेको हो ।
आइतबार साविकको फुएतप्पा गाविस वडा नं ७ र ८ का जनतालाई लक्षित गरेर शिविर संचालन भएको छ । शिविरमा घटना दर्ता, मालपोत संकलन, पशु औषधी वितरण र मानव स्वास्थ्य चेकजाँच गरिएको हो ।

कार्यालयले २७ जना स्थानीयको घरजग्गाको मालपोत संकलन, ५० भन्दा बढि किसानहरुलाई पशु औषधी वितरण र ३५ जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको वडा सचिव सन्तोष खनालले जानकारी दिए ।
गाउँघरमा पहिलो पटक शिविर संचालन भएपछि स्थानीय हर्षित भएका छन् । आँगनमै सेवा पाएपछि स्थानीय लाखबहादुर दलार्मी मगर शिविर निरन्तर आयोजना गरिदिए २ घण्टा हिडेर वडा जानुपर्ने बाध्यता अन्त्य हुने बताउँछन् ।

शिविरमा वडा सचिव सन्तोष खनाल, स्वास्थ्य नरेन्द्र शाह, पशु प्राविधिक भगुराम बलाम्पाकी, कार्यालय सहयोगी टेकवीर राईले सेवा प्रदान गरे । शिविरमा वडाध्यक्ष पदम दलार्मी मगर वडा सदस्यहरु कविता राई, गजेन्द्र लिम्बु, ताराबीर मगर, लगायत उपस्थित थिए ।
वडा कार्यालयबाट टाढा रहेका अन्य क्षेत्रमा समेत शिविर संचालन हुने सचिव खनालले जानकारी दिए ।