फिक्कल : इलामको फिक्कलमा चौथोे ‘सूर्योदय सडक महोत्सव’ शुरु भएको छ । नयाँ बर्ष २०८० को अवसरमा सूर्योदय होटल व्यवसायी संघ , आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवमा उद्घाटन कोशी प्रदेश सभासदस्य खगेश्वरी पौडेल अधिकारीले गरिन् ।
सडक महोत्सवमा स्थानीय खानाका परिकार र इलामका कृषि उपज सहितका ४० वटा स्टल रहेका छन् । महोत्सवमा धनकुटामा उत्पादन गरीएका काठका सामग्री र ढाकाका कपडा बिशेष रुपमा राखिएको छ भने फुलका स्टल समेत महोत्सवमा राखिएको छ । महोत्सव सम्पन्न गर्दा ४० लाख खर्च हुँने आयोजकले जानकारी दिएको छ ।
आयोजक मुल समारोह समितिका अध्यक्ष अभिषेक श्रेष्ठले चौथो सूर्योदय सडक महोत्सवले सूर्योदयको मात्र नभई इलामको पर्यटन प्रर्वधन गर्न सकिने बताउनु भयो । एक लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव, सूर्योदय नगरपालिका नवप्रवर्तन साझेदारी कोष , कन्याम प्यारा ग्लाईडिङ , सूर्योदय एड्भेन्चर लगायतले सहयोग गरेका छन ।
आयोजक समितिका सचिव अभिषेक प्रताप पौडेलका अनुसार महोत्सव शुरु हुनु अघि कन्यामबाट फिक्कल सम्म महोत्सवको प्रचार गर्न युवाले मोटरसाईकल र साईकल र्याली गरेका थिए । कार्यक्रमको पहिलो दिन अस्मिता अधिकारीले आफ्नो प्रस्तुती राखेकी थिइन् । कार्यक्रममा सविन राई , समिक्षा दाहाल , लिर्जड ब्याण्ड लगायतको सांगीतिक प्रस्तुती रहने छ ।