इलाम । माइपोखरी म्याराथन दौडका लागि ७९ जनाको नाम दर्ता भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको आयोजनामा प्रथम माईपोखरी म्याराथन दौड प्रतियोगिता हुँदै आएको छ । जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव २०७९।०८० मूल आयोजक समितिको सह आयोजना म्याराथन प्रतियोगिता हुँदै आएको छ ।
म्याराथन प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहयोग र अजोड इन्स्योरेन्सको बीमा प्रायोजन गरेका छन् । २०८० साल बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन दौडमा हालसम्म पुरुष ६३ जना र महिला १५ जना धावकहरुको नाम दर्ता भइसकेको छ । जसमा केन्याका १ जना र भारतका ४ जना धावकहरु रहेका छन् । धावकहरुको नाम दर्ता चैत्र २९ गते ५ बजेसम्म हुनेछ । नाम दर्ता गरेका धावकहरुले चैत्र ३० गते दिउँसो ११ बजे भित्र स्वास्थ्य जाँचका लागि इलाम नगरपालिका भवनमा आइपुग्नु पर्नेछ ।