Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय एवं जैविक महत्व बोकेको क्षेत्र माइपोखरी

पर्यटकीय एवं जैविक महत्व बोकेको क्षेत्र माइपोखरी

  • नमीन ढकाल
  • मंगलबार, चैत्र २८ २०७९


पर्यटकीय एवं जैविक महत्व बोकेको क्षेत्र माइपोखरी

इलाम । भ्रमण वर्ष–२०२० का अवसरमा सरकारले १०० पर्यटकीय क्षेत्र छान्यो । जसमा इलामको सन्दकपुर गाउँपालिका—१ मा रहेको रामसार क्षेत्र माईपोखरी समेत समेटिन पुग्यो । नयाँ पर्यटकीय क्षेत्र भन्दै सरकारले पर्यटकीय क्षेत्र छनोट गरे पनि कोरोनाले भ्रमण वर्ष त्यति फलदायी हुन सकेनन् ।

छनोटमा परेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनको पाटो राम्ररी नै सप्रियो । अहिले पनि धेरै पर्यटक यो क्षेत्रमा पुग्छन् । अहिले गाउँपालिकाले प्रथम सन्दकपुर महोत्सव आयोजना गरेर पर्यटकहरुलाई निम्तो गरिरहेको छ । महोत्सवका संयोजक जिवन शिवा १ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउँछन् ।

चैत्र २४ गतेबाट सन्दकपुर गोल्डकप संचालन भइरहेको छ । बैशाख १ गते सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका र रणशार्दुल गणको संयुक्त आयोजनामा प्रथम माईपोखरी म्याराथन हुँदैछ । २ गतेबाट ४ गतेसम्म ५ वटै वडामा वडास्तरिय कार्यक्रमहरु, ल्यान्डरोभर सफारी हुँदैछ ।

५ गते महोत्सवको औपचारिक उद्धघाटन गरी स्थानीय कला संस्कृतिको प्रर्वद्धन गर्ने महोत्सव सहसचिव हरि गुरुङले बताए । २८ अक्टोबर २००८ मा विश्व रामसार सूचीअन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणापछि पर्यटक एवम दर्शनार्थीको चाप बढदै गएको छ । नौवटा कुनामा पैmलिएको माईपोखरीलाई प्रकृतिको सुन्दर सिर्जनाका रूपमा लिइने गरिन्छ ।

माई अर्थात् आमा र पोखरी अर्थात् तलाउ जसबाट माइपोखरी रहेको भन्ने विश्वास गरिन्छ । बलिप्रथा निषेध रहेको यस क्षेत्रलाई साक्षात देवीको रुपमा पुजा गरिँदै आएको छ । यस क्षेत्रमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ ।

कुनै समयमा पोखरी वरिपरिका रुख विरुवाबाट पोखरीमा खसेका पातपतिङ्गरहरू चराचुरूङ्गीहरूले टिपेर बाहिर फ्याँक्ने तथा पोखरीमा पञ्चेबाजा, शङ्खघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट अकस्मात अनौठो ज्योति निस्कने र तुरून्तै लोप हुने गरेको स्थानिय किरण राई बताउँछन ।

द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनबास रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको भन्ने गरिन्छ । यसैगरी राजा मारुतका साथमा उनकी ‘इला’ नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै ‘इला’बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुति समेत रहेको छ ।

माईपोखरीलाई हिन्दु, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । माईपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मला माईआश्रम, टाँसी छोलिङ गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेका छन् । बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन माईपोखरीमा विशेष पूजाअर्चना र मेला लाग्ने प्रचलन रहेको छ । सबै धर्म संस्कृतिको सङ्गम रहेको माईपोखरीले सिङ्गो इलामको सांस्कृतिक सभ्यतालाई प्रतिविम्बित गर्ने कुरा इतिहासविद्ध युद्धप्रसाद बैद्य बताउछन ।

नौ कुने पोखरी तारा आकृतिको छ । १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ । मेची राजमार्गको विव्ल्याँटे बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्त्व रहको छ । होमस्टे र होटल व्यवस्था रहेको यस क्षेत्रमा भ्रमण गर्न असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाख लाई उपयुक्त मानिन्छ ।

करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरीर्पूण यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ । यो पोखरी समुन्द्री सतह देखि ७२०० फिटको उचाईमा रहेको छ । अत्यन्तै मनमोहक जंगलले घेरिएको यो स्थानमा बिसं १९५४मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ ।

हरीशयनी एकादशी र हरीबोधिनी एकादशीका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । यसको नवरात्रसँग नजीकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ । जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ। हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ ।

९ कुने पोखरीका हरेक कुनामा माइभगवतीको पूजा हुन्छ । लौठ सल्ला, सुनाखरी, गलैंचे झ्याउ जस्ता अन्तर्राष्ट्रिय महत्वका वनस्पति यहाँ पाइन्छन् । वनस्पति, चराचुरुंगीको चिरीबिरी सुन्दै जंगल सफारी गर्दा बेग्लै आनन्द हुन्छ ।

ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यागट्याग पाहा, रूख भ्यागुतो जस्ता उभयचर प्रसस्तै पाइन्छन् । हरियो छेपारो, चंखे सर्प र विश्वमै लोपोन्मुख ओत जस्ता सरिसृपको बासस्थान पनि हो यो क्षेत्र । माइ उपत्यका धेरै चराचुरुंगीको बासस्थान भएको क्षेत्रका रूपमा चिनिन्छ । उपत्यकामा ३ सय प्रजातिका पक्षीको अभिलेख गरिएको छ । त्यसमध्ये २ सय प्रजातिकाले यही क्षेत्रमा प्रजनन् गर्छन् । बाँकीचाहिँ बाहिरबाट बेलाबेलामा आउने गर्छन् ।

पीतमुहार चिचिल्कोटे र सानो सिविया चरा यो सिमसार क्षेत्रमा मात्र अभिलेख गरिएको छ । काकाकुल, कालोभुँडीफोर, भुँडीफोर, हिमाली गिद्धलगायतका चरा गर्मी याममा यहाँ आउने गर्छन् । साइबेरियादेखि श्रीलङ्कासम्म बसाइ सर्ने चराहरूसमेत यही क्षेत्र हुँदै आउजाउ गर्ने गरेको पाइएको छ । माईपोखरीमा खास गरी तीन थरिका पर्यटकहरू आउने गर्दछन् ।

पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेस्रो यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय पक्षको अध्ययन अनुसन्धान, संरक्षण र विकासमा लागि पर्ने मानिसहरू रहेका छन् ।

इलामको उत्तरी क्षेत्र प्रवेशको लागि एउटा सजिलो मार्ग भएका कारण समेत यस क्षेत्रमा पर्यटकहरू धेरै संख्यामा वर्षैभरि आउने गर्दछन् । यातायातको सुविधाले समेत यस क्षेत्रमा आउने जाने पर्यटकहरूलाई सजिलो भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार