Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

संघीय सरकारद्धारा संचालित सूर्योदयमा ३३ करोड बराबरको आयोजनाको थालनी

संघीय सरकारद्धारा संचालित सूर्योदयमा ३३ करोड बराबरको आयोजनाको थालनी

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २३ २०७९


संघीय सरकारद्धारा संचालित सूर्योदयमा ३३ करोड बराबरको आयोजनाको थालनी

पशुपतिनगर । सूर्योदय नगरपालिकामा ३३ करोड बढीका आयोजनाहरूको निर्माण कार्यको थालनी भएको छ । संघीय सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना माफर्त सूर्योदय नगरपालिकाको शहरी विकासको क्षेत्रमा पूर्वाधार निर्माणका आयोजनाहरुको कामको शुरुवात भएको हो ।
३५ करोड ठेक्का रकममध्ये निर्माण व्यवसायीसंग ३३ करोडमा ठेक्का संझौता भएको छ ।

२० महिनाभित्र सम्पन्न गर्ने आयोजनाहरुको पूर्व प्रधानमन्त्री झलनाथ खनालले संघ तथा प्रदेश निर्वाचन अघि सिलान्यस गरेका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट सिलान्यास भएका आयोजनाहरुमध्ये बिहिबार सुर्योदय नगरपालिकाको छब्बिसे छिरूवा सडक खण्ड निर्माण कार्यको सुरूवात भएको थियो । यी आयोजनाहरुको निर्माणको काम देवीडाँडा निर्माण सेवा प्रा लि इलामले जिम्मा पाएको छ ।


ठेक्का संझौता अनुसार एक नमूना बस्ती, एक कृषि संकलन केन्द्र, सवारी साधन पार्क, पोखरी संरक्षण र आठ किमी कोलोपत्रे सडक निर्माण हुने निर्माण व्यवसायी नविन तामाङले बताए । बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बिसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोडअन्तर्गत छिपिटार शान्तिगोलाई सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर बुद्धिराम चाैधरिले बताए ।
बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थित बसोबास र विकास निर्माणलाई ध्यानमा राखेर आयोजनाको काम अगाडि बढाइएको हो । एकीकृत विकासअन्तर्गत सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने छ । आयोजनाअन्तर्गत पशुपतिनगरमा छ रोपनी जमिनमा तीन करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुनेछ ।
नगरपालिकाको अन्तु पोखरी, जोरपोखरी र कन्यामको सौन्दर्य अभिवृद्धि आयोजनाअन्तर्गत गरिने छ । यी काम अगाडि बढेसँगै नगरमा विकासले गति लिने नगरपालिकाले जनाएको छ । यस्ता विकासका आयोजनाले पर्यटकीय नगरीका रूपमा विकास भइरहेको सूर्योदय नगपालिकामा अझ धेरै पर्यटक भित्रिने अपेक्षा गरिएको छ । सुर्योदय नगरपालिकाको छब्बिसे छिरूवा सडक खण्ड निर्माण कार्यको सुरूवातमा सूर्योदय नगर प्रमुख रण बहादूर राई सहित निर्माण व्यवसायी लगायतको टोलि उपस्थित रहेको थियो । ५० करोडको आयोजना भनिएपनि निर्माणको काम ठेक्का संझौता अनुसार ३३ करोडको हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार