इलाम । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको एक कारोबारी पक्राउ परेका छन् । इलामका ब्राउनसुगर कारोबारी झापामा पक्राउ परेका हुन् । झापा प्रहरीका अनुसार मेची पुलमा ४४ ग्राम ब्राउन सुगरसहित इलाम नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय सुजन बाला राई पक्राउ परेका हुन् ।
आइतबार दिउँसो ३ः४५ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलबाट पक्राउ गरेको हो । प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची पुलमा राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४४ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।