इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभित्र संघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टीको मेची व्युरोले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था , जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
नेपालमा सत्तारुढ दल दलाल पुँजीवादी व्यवस्था र जनताको चाहना र आवश्यकताको विपरीत रहेको बताउँदै पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले अहिलेको सत्ता विश्व साम्राज्यवाद, भारतीय साम्राज्यवाद तथा निगम पुँजीवादको आड भरोसा र आशिर्वादमा टिकिरहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै ब्युरो इन्चार्ज सुमनसिंह सीले विश्व पुँजीवाद भयानक आर्थिक र बैचारिक संकटतिर धकेलिएको जिकिर गरे । उनले नेपाललाई क्रिडा स्थल बनाउन खोजिरहेको बताएका छन्,। एमसिसी त्यसको पछिल्लो हर्कत रहेको र देशको राजनीतिक संकटले आर्थिक संकट, सार्वभौमिक सुरक्षा र अखण्डतामा नै संकट पैदा गरेको उनको आरोप छ ।
दलाल पुँजीवादी ब्यवस्थाबाट त्यसको निकास सम्भव नरहेको र संसदीय ब्यवस्था प्रति आस्थावान बुद्धिजिवीहरुले नै वर्तमान राजनीतिक प्रणाली असफल भएको कुरा बोल्न थालेको उनले बताए । दलहरुमा निकृस्ट स्वार्थ लम्पट प्रवृती, बैचारिक पतन, नैतिक स्खलन उत्कर्षमा पुग्नुले पार्टीको राजनीतिक विश्लेषणलाई सही सावित गरिदिएको सीले बताए । उक्त पार्टीको मेची ब्युरोको प्रथम बैठकले झापा सहित मेची क्षेत्रमा राजनीतिक, सांगठनिक, आर्थिक, सघर्षं, सांस्कृतिक, भारतीय सिमा क्षेत्रमा भइरहेको अतिक्रमणका बिषय लगायत राष्ट्रीय स्वाधिनता र जनसरोकारका थुप्रै बिषयमा छलफल गरेको थियो ।
नेकपाले जारी गरेको आगामी कार्यक्रम
१. मिटर ब्याजी, लघु बित्तको चक्रबृती ब्याज , चर्को बैंक ब्याज र बैंकले जनता माथि थोपरेको आतंकको बिरुद्ध संघर्ष गर्दै जनतालाई न्याय दिने । बैंक तथा बित्तिय क्षेत्रहरुलाई एक ‘१’ अंकमा व्याज घटाउन लगाउनको निम्ति कडा संघर्ष गर्ने ।
२. भारतीय पक्षले झापा, इलाम, पाँचथर क्षेत्रमा सिमा अतिक्रमण गरिरहेको स्थिती छ, यसको छानबिन गर्दै जनताहरु सहित राष्ट्रिय स्वाधिनताको संघर्ष संचालन गर्ने ।
३. लागुऔषध कारोबार र तस्करीको कारण समाज आक्रान्त बन्न पुगेको छ, यसको सुक्ष्मरुपमा अध्ययन गर्दै यसलाई नियमन गर्न जन सहभागीता सहित कडा कदम चालिने छ ।
४. सामाजिक बिभेद, महिला हिंसा, लगायत समाजमा घटिरहेका यस प्रकारका बिभेदकारी अत्यचार बिरुद्ध जनताहरुलाई जागरित गर्दै कडा संघर्ष गर्ने ।
५. स्वास्थ्य र शिक्षामा भइहेको माफियाकरणले जनताको जिवन अत्यन्तै कष्टकर बनिरहेको छ । हाम्रो पार्टी स्वास्थ्य र शिक्षाको क्षेत्रमा देखिएका यस्ता समस्याहरु बिरुद्ध सशक्त प्रकारले लड्ने छ ।
६. स्थानिय निकाय र प्रशासनिक क्षेत्रमा भैरहेको भ्रस्टाचार, अनियमितता बिरुद्ध जनपरिचालन सहित सशक्त संघर्ष गर्ने ।
७. महङ्गी, कालोबजारीको कारण जनतालाई पर्न गएको संकट प्रति हाम्रो पार्टी संवेदनसिल छ । जनता सहितको संघर्षको बलमा बेलगाम लुटलाई ठेगान लगाईने छ ।
८. सुकुमबासी माथी भइहेका अत्याचार लगायतका बिरुद्ध संघर्ष गर्ने । सुकुमबासी माथि अत्याचार गर्नेहरु बिरुद्ध जन परिचालन सहित कारवाहि संचालन गर्ने ।
९. किसानहरुमाथि राज्यद्वारा भइरहको ज्यादति र बेवास्ता बिरुद्ध किसान आन्दोलनलाई अगाडि बढाउने । भारतबाट निर्वाधरुपमा क्वारेन्टाईन चेक नगरि नेपालमा भित्रिरहेका फलफुल ,तरकारी, खाध्यपदार्थ, माछामासु लगायतका उपभोग्य सामाग्रीहरुको कारण नेपाली जनताको स्वास्थ्यमा गम्भिर संकटहरु आईरहेका छन् , यस बिरुद्ध हाम्रो पार्टीले सशक्त संघर्ष गर्ने छ ।