Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

थुम्केरानी पर्यटन महोत्सव अन्तिम चरणमा

थुम्केरानी पर्यटन महोत्सव अन्तिम चरणमा

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २१ २०७९


थुम्केरानी पर्यटन महोत्सव अन्तिम चरणमा

फिक्कल । इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजनामा हुने महोत्सवमा नेपाल–भारतको सुन्दर दृश्यावलोकनसंगै सांगीतिक कार्यक्रम समेत हुनेछ ।

माघ २२ गतेबाट २४ गते सम्म संचालन हुने महोत्सवमा स्टल सहित स्थानीय खानाका परिकार पर्यटकका लागि राखिने छ । आयोजकका अनुसार २२ गते स्थानीय सिंहदेबी मन्दिरको दर्शन सहित कार्यक्रमको उद्घाटन हुने छ । त्यस्तै २३ गते ट्रेकिङ सहित अन्य कार्यक्रम र २४ गते समापन सहित सांगीतिक कार्यक्रम गरीने छ ।

थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाको केन्द्र नयाँबजार देखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मा सम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा पर्यटकका लागि जंगल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन थप आर्कर्षक बन्ने छन ।

विश्वको तेस्रो अग्लो हिमशृखला कञ्चनजंघा, दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्ड) ,एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको छ । महोत्सवले सिंगो माईजोगमाई गाउँपालिका सहित छिमेकी पालिकाको पर्यटन प्रवर्दनमा सहयोग पुग्ने माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जीत बहादुर राईले जानकारी दिए ।

उनले थुम्के जौवारी हुँदै मेग्मा सम्म सडक बिद्युत र खानेपानीको सुविधा पुगेकाले पर्यटक र पर्यटन ब्यवसायीलाई सहज भएको बताए । महोत्सवमा लोक गायक इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई,नवीन सुवेदी लगायत स्थानीय कलाकारको प्रस्तुती रहनेछ । मुख्य आकर्षणको रुपमा हास्यकलाकारः– सुबोध गौतम (एदुमे) रहेका छन् । आन्तरिक एवम बाह्य पर्यटकलाई थुम्केरानीको बारेमा जानकारी दिने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।

लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक पर्यटक पुग्ने गरेका छन । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले गाउँपालिकाको थुम्के सहित माथिल्लो लेकाली क्षेत्रको बिस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिने बताए ।

उनले दिगो आर्थिक उर्पाजनका लागि पर्यटक बिकास आवश्यक भएको बताए । गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकामा प्रशस्त पर्यटकीय ठाउँ भए पनि प्रचार प्रसारको कमि भएको बताइन् । उनले नयाँ गन्तब्यका रुपमा पालिका भित्रका धेरै स्थानको बिकास गर्न सकिने बताइन् ।

पालिकामा उत्तरे पोखरी , शिब मन्दिर बौद्धगुम्बा सहित बिभिन्न देबिस्थल सहितका धार्मिक पर्यटकीय स्थल रहेका छन । जौवारी , तुम्लिङ, टङ्लु मेग्मा लगायतका क्षेत्र बिदेशी पर्यटक भित्र्याउन सकिने गन्तव्यहरु रहेका छन् । जौवारी हुँदै सन्दकपुर सम्म्को यात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार