इलाम । युट्युव नियमन गर्न नसक्दा नेपालको पत्रकारिता जगत नै धरापमा परेको इलाममा आयोजित पत्रकारका आचार संहित तथा पत्रपत्रिका वर्गिकरण सम्बन्धी अन्तरक्रियाका सहभागीहरुले बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ इलामको संयोजनमा आयोजित कार्यक्रममा सहभागी पत्रकारहरुले युट्युवलाई नियमन गर्ने कानुन नहुँदा पत्रकारिता जगतलाई नै धरापमा पार्ने गतिविधि हुँदै आएको बताए ।
पछिल्लो समय घरघरमा युट्युव च्यानलका कारण पत्रकारहरु प्रति विश्वसनियता घट्दै गएको उनीहरुको जोड थियो । काउन्सिलका सदस्य गणेश पोखरेलले नियमन सम्बन्धी ऐन निर्माणको प्रयास भएको बताए । उनले स्थायी सरकार नहुँदा ऐन निर्माणको कार्य मात्र भएको बताए । काउन्सिलका अर्का सदस्य ठाकुर बेल्बासेले युट्युवहरुबाट सांसदहरु पनि पिडित भएको बताए ।
उनले पिडित भएपनि ऐन लागु गराउने बारेमा कसैले पनि कुरा नउठाएको बताए । पछिल्लो समय ह्वात्तै बढेको अनलाइन पत्रकारिता र युट्युब च्यानलमा आचारसंहिता अत्यधिक उल्लङ्घन हुने गरेको नेपाल प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलमा आउने उजुरी तथा गरिदैं आएको अनुगमनका आधारमा आचार संहिता उल्लंघनको उजुरी बढि पाइएको जनाइएको छ ।

काउन्सिलको प्रतिवेदनमा २०७८ साउन देखी २०७९ असार सम्म २०३ वटा उजुरी परेको तथ्याङ्क छ । १०२ वटा अनलाइनलाई नेपाल भित्र हेर्न नसकिने गरी कारबाही गरिएको छ । आचार संहिता उल्लङ्घनको उजुरी दोहोरिएका नाम चलको राष्ट्रिय संचारमाध्यमहरु समेत रहेको प्रतिवेदनमा उल्लेख छ ।
आचार संहिता उल्लंघन गरी व्यक्तिको चरित्रहत्या, मानहानि लगायतका धेरै उजुरी आउने गरेको बताउँदै काउन्सिलका सदस्य बेल्बासेले भने ‘काउन्सिलमा सुचिकृत नभएको अनलाइन संचारमाध्यमहरुलाई साइबर ऐन सम्बन्धी मुद्धा समेत लाग्न सक्ने खतरा देखिएको छ ।’ पत्रकार आचार संहिता बारेमा आफ्नो प्रस्तुती राख्दै उनले कतिपय प्रकाशित समाचार ‘बार्गेनिङ’का लागि छापिने र सहमति भएपछि अघिल्लो समाचारको ठिक विपरीत समाचार प्रकाशित गरेको उदाहरण स्वरूप त्यस्ता समाचारको ‘कटिङ’ पनि सञ्चारकर्मीहरूलाई प्रदर्शन गरे ।
अन्तरक्रियामा काउन्सिलका अधिकृत रहमतुल्ला मियाले वितरण सम्परिक्षण समितिले पत्रपत्रिकाको मुल्याङकन गर्ने प्रक्रिया र पद्धतिका बारेमा जानकारी दिएका थिए । मियाका अनुसार इलामबाट २ वटा दैनिक, २ साप्ताहिक र १ मासिक पत्रिकाले वर्गीकरणका लागि फारम भरेका छन् । उनले मुल्याङकन प्रक्रियाको बारेमा आफ्नो प्रस्तुती राखेका थिए ।
पत्रकार इलामका अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ, शसस्त्र प्रहरी उपरिक्षक द्रोण बिष्ट, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक जितेन्द्रकुमार बस्नेत लगातयको उपस्थिती रहेको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद बिजय शेखर भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रम कोषाध्यक्ष राम योङहाङले संचालन गरेका थिए ।