चुलाचुली । इलामको दक्षिणि गाउँपालिका चुलाचुलीमा अनलाइनबाट सेवा प्रभाव शुरु गरेको छ । जनतालाई छिटो छरितो सेवा प्रदानका लागि गाउँपालिकाबाट हुने सबैकाम प्रविधिको प्रयोग गरि अनलाइनबाटै हुन थालेको हो ।
वडा कार्यालयबाट पाउने सेवा प्रविधिमैत्री बनाउन चुलाचुली गाउँपालिकाले अनलाइनबाट सेवा शुरु गरेको छ । गाउँपालिका भित्रका सबै काम प्रविधिमैत्री बनाउन सफ्टवेयरको प्रयोग गरि जनतालाई सेवा दिने लक्ष्यका साथ अहिले अनलाइबाटै काम हुँदै आएको हो ।
लेखाबाट हुने भुक्तानी, भण्डारण शाखा, व्यक्तिगत घटना दर्ता, बोलपत्र आवाह्नको काम अनलाइनबाट चुलाचुली गाउँपालिकाले गर्दै आएको छ । यो आर्थिक वर्षमा पालिकाले राजश्व संकलन, घटना दर्ता र भुक्तानिको प्रक्रिया पनि अनलाइनबाट गरेको लेखा अधिकृत मिलनकुमार भट्टराईले बताए ।
प्रमुख प्रशासनिक केन्द्रका बिषयगत शाखासँगै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा कम्प्युटरको माध्यमले अनलाइन सेवा प्रदान हुँदै आएको छ । पालिकाबाट हुने सिफारिस र दर्ता चलानीको काम पनि अनलाइनबाटै गर्ने योजनाका साथ आवश्यक प्रविधि र एप्स जडान भएको छ । अनलाइनबाट हुने काम छिटो, छरितो हुने भएकाले दैनिक सेवा लिन आउने धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको प्रमुख प्रसाशकिय अधिकृत डिल्लिराम सुवेदीले बताए ।
प्रविधिमैत्री कामले जनतालाई छिटो सेवा दिनुका साथै हातले गर्दा हुने त्रुटि पनि हटेको छ । गाउँपालिकाको काम पूर्ण रुपमा प्रविधिमैत्री बनाउन नसकिएपनि हुनसक्नेसम्म काम अनलाइनबाटै सेवा दिने गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
कम जनशक्तिबाट बढी सेवा प्रदान गर्ने योजनाका साथ गाउँपालिकाले अनलाइनबाटै सेवा दिँदै आएको हो । इन्टरनेटको गति कम हुँदा र सफ्टवेयरमा आउने समस्या बाहेक पालिकाबासीले प्रविधिबाट छिटो सेवा लिँदै आएका छन् ।