इलाम । इलाम सेवा समाज, दोहा–कतारले संस्थाको आठौं स्थापना दिवशको अवसर पारेर संस्थाका संस्थापकहरुलाई सम्मान गरेको छ । कतारमा वैदेशिक रोजगारी साथै विभिन्न पेशा–व्यवसाय गर्दै आएका सम्पुर्ण इलामेलीहरुलाई समेट्दै “ज्यूँदाको जन्ती मर्दाको मलामी, हामी इलामेली” भन्ने मुल नाराका साथ सन् २०१५ जनवरी, २३ का दिन स्थापना गरिएको इलाम सेवा समाज, दोहा–कतारका संस्थापक अध्यक्ष श्री धन बहादुर विश्वकर्मा (रोशन), संस्थापक प्रथम–उपाध्यक्ष श्री रेनुका कार्की साथै इलामेली वरिष्ठ वाद्यवादक श्री जोएल परियारलाई सम्मान गरेको हो ।

सम्मानित व्यक्तिहरुले मन्तव्यको क्रममा आफुले स्थापनाकालमा गरेभोगेका हरेक सुखदुःखका क्षणहरु सम्झदै संस्थाले गरेको यो सम्मानले थप जिम्मेवारी बढेको महसुस भएको कुरा व्यक्त गरे । दोहा–नज्मा स्थीत द गोर्खा नेपाली रेस्टुरेण्टमा २० जनवरी, २०२३ शुक्रबारका दिन आयोजित कार्यक्रममा कतारमा रहेका इलामेली तथा अन्य कलाकारहरुको नृत्य, गायन साथै वरिष्ठ गिटारिस्ट जोएल परियारको प्रत्यक्ष प्रस्तुती रहेको थियो ।
संस्थाका अध्यक्ष श्री खड्क फागोको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका द्दितिय–उपाध्यक्ष श्री गंगा गुरुङले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै प्रथम–उपाध्यक्ष श्री तोरण बस्नेतले संस्थाको चालु र भावी कार्यक्रमहरु बारे जानकारी गराएका थिए । ६० जना हाराहारीको उपस्थिती रहेको कार्यक्रम संस्थाका महा–सचिव श्री ज्ञानेन्द्र रसाइलीले संचालन गरेका थिए ।