इलाम । इलाममा दुई दिवसीय पत्रकारिता अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम शनिबार सुरु भएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश १ को आयोजनामा सदरमुकामस्थित फ्रेण्ड्स होटलको सभाहलमा सुरु भएको हो ।
पत्रकारिता क्षेत्रमा रुचि भएका महिला, अपांगता भएका, आदिवासी जनजाति, दलित, पिछडा वर्गका युवाहरुलाई लक्षित गरी आयोजना गरिएको प्रशिक्षणमा ३५ जनाको सहभागिता रहेको छ ।
कार्यक्रमको सहजीकरण यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत गणेश कार्की, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, सचिव भीम चापागाई र कोषाध्यक्ष राम योङहाङले सहजीकरण गरिरहेका छन् ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का निवर्तमान उपाध्यक्ष सोम सुसेलीले कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिताले पत्रकारिता क्षेत्रप्रति आकर्षण बढ्दो रहेको अनुभूति दिलाएको बताए ।
महांघका निवर्तमान केन्द्रीय सदस्य सटेन्द्र जवेगूले पत्रकारिता कुनै पास गरेर खाने जागिर नभई दैनिक परीक्षा रहेको बताउँदै पत्र कारितामा लगनशीलता हुन सके धेरै अवसरहरू रहेको बताए ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत गणेश कार्कीले छुट्टै अस्तित्वको मन्त्रालयको अन्तिम कार्यक्रम इलाममा भएको भन्दै यस कार्यक्रमले पत्रकारिता क्षेत्रमा आउनेलाई केही सहयोग हुन्छ भन्ने अपेक्षा मन्त्रालयको रहेको बताए ।
यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाले पत्रकारिताको बारेमा नबुझी पत्रकारिता गर्नेहरूले विकृति र विसङ्गति भित्र्याईरहेको भएतापनि सकारात्मक सोचका साथ पत्रकारिता गर्ने हो भने भविष्य उज्ज्वल रहेको उलेख गरे ।
महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराईले यातायात तथा सञ्चार मन्त्रालयले इलाममा कार्यक्रमको आयोजना गरेको भन्दै यस अवसरलाई जिल्लाबासीले भरपुर सदुपयोग गर्ने बताए ।