इलाम । एक वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा इलाम नगरपालिकाको पहलमा आइतबारदेखि पुनः उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं–इलाम र इलाम–काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले शुरु गरेको हो ।
सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति पछि आइतबारबाट उडान शुरु भएको इलाम नगरप्रमुख केदार थापाले जानकारी दिए । इलामबाट काठमाडौंका लागि विहान साढे ९ बजे उडान हुने तालिका बनाइएको छ । १९ सिट क्षमताको ट्विनअटर जहाजको उडानको शुरुवातको अवसरमा नेपाल बायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारी सहितको टोली काठमाडौँबाट इलाम आएको थियो ।
जाहाजका क्याप्टेन पेम्बा सेर्पा, रक्षित मल्ल लगायत उडान कर्मचारी र नेपाल बायुसेवा निगम व्यवस्थापन पक्षलाई इलाम नगर प्रमुख केदार थापा, उप–प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना विमानस्थल रहेको वडाका अध्यक्ष गोपाल चौहान लगायत जनप्रतिनिधि, स्थानीयबासी, व्यवसायीहरुले फुलमाला सहित स्वागत गरेका थिए ।
आइतरबारबाट शुरु भएको पहिलो उडानमा ८ जना यात्रु काठमाडौँ थिए । अब हरेक आइतबार काठमाडौँको त्रिभुवन विमानस्थलबाट बिहान साढे ७ बजे इलामको फाल्गुनन्द विमानस्थलका उडान हुने र इलामबाट बिहान साढे ८ बजे काठमाडौँ उडान हुने नेपाल एयरलाइन्स फाल्गुनन्द विमानस्थलका कर्मचारी दिनेश सुन्दासले बताए । इलामबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले उडान शुरु गरेपछि इलामको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने इलाम नगर प्रमुख केदार थापाले बताए । पर्यटकीय जिल्ला इलाममा हवाई सेवा सुचारु भएकाले नियमित उडानका लागि सबै इलामबासीले सहयोग गर्नुपर्ने नेपाल एयरलाइन्सका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए ।

फाल्गुनन्द विमानस्थल इलामबाट काठमाडौंको एकतर्फी भाडा ६ हजार ३ सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि भने एकतर्फी भाडा ६ हजार पाँच सय तोकिएको छ । तर जेष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई कर बाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

त्यस्तै एक उडानमा दुई जना २५ वर्ष ननाघेका विद्यार्थीलाई परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्रको आधारमा करबाहेकको रकममा २५ प्रतिशत भाडा छुट गरिएको छ । त्यसैगरी २ वर्षदेखि १२ वर्ष सम्मका सबै बालबालिकालाई जन्म दर्ताको आधारमा भाडामा २५ प्रतिशत छुट गरिएको छ ।
यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तल्लाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिका प्रमुख केदार थापाले बताए । इलाम–काठमाडौं र काठमाडौं–इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्नेछ ।

उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले इलाम नगरपालिकासँगको सम्झौतामा व्यवसायिक उडान सुरु गरेको थियो । तर ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेपछि विमानस्थल सुनसान थियो । इलाम नगरपालिकाको पहलमा पुनः उडान सुचारु भएपछि जिल्लाबासीहरु हर्षित भएका छन् ।

यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ ।

फाल्गुनन्द विमानस्थल निर्माणका २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ ।

२०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो । २१ जेठ २०७५ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । करिब २८ करोड रुपैयाँ खर्चमा पक्की धावनमार्गसहितको विमानस्थल निर्माण गरिएको