काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका छन् । ‘दलहरू बीच उपप्रधानमन्त्रीमा सहमति भएको छ । मन्त्रालयमा भने सहमति भएको छैन,’ रास्वपाका एक नेताले भने उपप्रधानसहित सभापति लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने भएको हो ।
रास्वपाले ६ वटा मन्त्रालयमा दाबी गरेको छ । तर सातवटा दलले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेकाले ६ वटा मन्त्रालय पाउने छैन । रास्वपाले कृषि, भौतिक, श्रम तथा रोजगार मन्त्रालयमा दाबी गरेको छ । ‘सरकारमा सहभागी हुने दलको बैठकले कुन पार्टीले कुन र कति मन्त्रालय पाउने टुंगो लगाउँछ,’ रास्वपाका एक नेताले भने, ‘गठबन्धनको बैठकपछि मन्त्रीको नाम टुंगो लगाउँछौँ ।’ पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्री छनोट गर्ने रास्वपाको तयारी छ । ‘विज्ञताको आधारमा मन्त्रीको छनोट गर्छौं,’ सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले भने ।
राप्रपाले समर्थन मात्र गर्ने, तत्काल सरकारमा नजाने
राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा सहभागी नहुने भएको छ। नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्ने क्रममा बानेश्वर पुगेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूको प्रश्नमा यस्तो बताएका हुन्। राप्रपासँग प्रतिनिधिसभामा कुल १४ सांसद छन्।
बैठकका लागि शीर्ष नेताहरू आउनेक्रम सुरु भएको छ। बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी सहभागी हुँदैछन्। बैठकमा उपस्थित हुन बैठकले नयाँ सरकार गठनबारे छलफल गर्नेछ।
यो बैठकले सबै दललाई मन्त्रालय भागवण्डाको विषय पनि टुंगो लगाउनेछ। नेपाली कांग्रेसले आफ्नो अडान नछाड्दा पुरानो गठबन्धन टुटेर आइतबार नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।