काठमाण्डौ । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । सत्ता गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको छ। सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा गठबन्धन भित्रको विवाद सतहमा आएको हो।
फुटको संघारमा गठबन्धन, प्रधानमन्त्री नपाए माओवादी प्रतिपक्षमा बस्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि गठबन्धन फुटको संघारमा पुगेको हो। अध्यक्ष प्रचण्डको सचिवालयले गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको संकेत गरेको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले कांग्रेसले सहमति तोडेको उल्लेख गरेका छन्।
‘नेपाली राजनीतिको एउटा खराव चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने,’ उनले भनेका छन्, ‘पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुःखान्त पुनरावृत्ति हाम्रासामु छ।’ माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक नपाए प्रतिपक्षमा बस्ने उल्लेख गरेका छन्।
‘विषयलाई सहज बनाऔं १ पूर्व-सहमतिअनुसार गठबन्धनले सरकारको नेतृत्व दिन्छ– गरौँ १ नत्र राष्ट्रपतिले दिएको समयसिमा कटे संविधानत देउवा प्रम हुन्छन्। उनले चाहेको पनि यही हो। देउवाले गठबन्धन छोडेको हुन्छ। गठबन्धनको दोस्रो ठूलो दल माओवादीले राष्ट्रपति र प्रममध्य एक त अधिकार हो। दुवै नमाने हामी प्रतीपक्ष हुन्छौँ,’ उनले भनेका छन्, ‘यति भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारमा हाम्रो विकल्प खुल्ला हुन्छ। अब बल्ल अरू राजनीतिक दल हाम्रो दैलोमा आउनुपर्छ।’
शनिबार साँझ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन टुंगिने जवाफ दिएका थिए। यस हिसाबले हेर्दा माओवादी केन्द्र सरकारको पहिलो कार्यकाल नपाए प्रतिपक्षमा बस्ने मनस्थितिमा पुगेको छ। माओवादी केन्द्रका महासचिव देव प्रस्ताव गुरुङले गठबन्धनलाई बचाएर लैजाने पक्षमा आफूहरू रहेको बताएका छन्।
उनले कांग्रेसले इमान्दार भएर माओवादीलाई सरकारको पहिलो कार्यकाल दिनुपर्ने बताए। आइतबार बिहान पार्टीका शीर्ष नेताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले गठबन्धन टुटेको बताएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्डले चुनावी तालमेलका क्रममा आफूहरुले धोका पाएको उल्लेख गर्दै फेरि पनि प्रधानमन्त्री नभए गठबन्धनमा बस्नुको अर्थ नहुने बताए। भेटमा नेताहरु हरिबोल गजुरेलसहितका नेताहरुले गठबन्धनको भागबन्डालाई लिएर बाहिर राम्रो सन्देश नगएकाले गठबन्धन बाहिर बस्न सुझाव दिएका थिए।
बैठकमा नेता गजुरेलले प्रधानमन्त्रीमा मात्रै दाबी नगर्न सुझाव दिएका थिए। उनले राष्ट्रपति पाए पनि गठबन्धनमा बस्न सुझाव दिएको जानकारी दिए। प्रधानमन्त्री मात्रै नभनौं राष्ट्रपति पाएपनि जाऔं। हामीसँग प्रधानमन्त्रीमा दाबी गर्न संख्या पनि कम छ। समग्रमा पावर सेयरिङ मिलाएर जाउँ भनें,’ नेता गजुरेलले थाहाखबर भने, ‘तर, उहाँ प्रधानमन्त्री नभई नछोड्ने मनस्थितिमा हुनुहुन्छ।’ सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको सात दिनको समय आज साँझ ५ बजेबाट सकिँदै छ। सोहीअनुसार दलहरूले बहुमत जुटाउने प्रयास गरिरहेका छन्।
प्रतिनिधिसभामा २७५ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि संसदमा १३८ सांसद आवश्यक पर्छ। निर्वाचनको परिणामअनुसार पहिलो दल नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको छ। एमालेको ४४ प्रत्यक्षसहित ७८ र माओवादी केन्द्रको प्रत्यक्षमा १८ सहित ३२ सिट छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२ सिट जितेको छ। एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादीले ४ सिट जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक र पाँच जना स्वतन्त्र प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।