इलाम । इलाम नगर प्रमुख केदार थापा नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । पौष ६ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा सम्पन्न भएको संघको ८ औँ अधिवेशनबाट थापा केन्द्रिय सदस्य बनेका हुन् ।इलाम नगरपालिका–६ का स्थायी बासिन्दा थापा गत स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनबाट इलाम नगर प्रमुखमा निर्वाचित भएका थिए ।
संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छिन् । कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई कोषाध्यक्ष र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन् ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । गत पौष ४ गतेबाट सुरु भएको अधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धघाटन गरेका थिए । अधिवेशनमा देशभरका नगरपालिकाका प्रमुख एवम उपप्रमुखहरुको सहभागिता रहेको छ ।