इलाम । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औ जन्मजयन्तीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) मंसिर १८ गते इलामको माङसेबुङ आउने भएका छन् । धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन पुन माङसेबुङ गाउँपालिका–५ लारुम्बा आउन लागेका हुन् ।
किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवमा विभिन्न कार्यक्रमको तय गरिएको छ । कार्यक्रमको तयारी तीब्र पारिएको माङगेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकारी दिए ।
जन्मोत्सवका अवसरमा मंसिर १६ गते साक्मुरा वादेम्मा, १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा र आत्मानन्द रनिङ गोल्डकपको फाइनल संचालन, १८ गते आत्मानन्द लिङदेनको ६९ औं शुभजन्मोत्सव समारोह–२०७९ उद्घाटन, खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा र विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको छ ।
त्यस्तै मंसिर १९ गते आत्मानन्द लिङदेनबाट आर्शीवचन, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवादपत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन र २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने कार्यक्रम रहेको छ ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्वराजा वीरेन्द्र शाह, ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी लगायत माङसेबुङ आइसकेका छन् ।
माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रभित्र जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा छ
गुरुको जन्मोत्सवमा स्थानीय विदा
माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरू आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा दिदैं आएको सार्वजनिक विदालाई निरन्तरता दिएको छ । अघिल्लो कार्यकालका गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको पालामा धर्मगुरुको जन्मोत्सवमा हरेक वर्ष मंसिर १८ मा दिदैं आएको सार्वजनिक विदा वर्तमान अध्यक्ष हेमन्त राईले निरन्तरता दिएका हुन् ।
गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको तर्फबाट सूचना जारी गरि धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा पालिकास्तरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।