फिक्कल । इलाम–१ बिजयी भएका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । फिक्कल बजारमा कार्यक्रम आयोजना गर्दै इलाम–१ को प्रदेशसभामा बिजयी भएका खिनु लङ्वा लिम्बु र शम्शेर राईले मतदाताहरुलाई धन्यवाद दिएका हुन् ।
नेपाली कांग्रेस इलाम क्षेत्र नं १ कार्यवाहक सभापति मैया लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै इलाम क्षेत्र नं १ को क बाट बिजयी खिनु लङ्वाले कार्यकर्ता र मतदाताहरुले इमान्दार साथ मतदान गरेको कारण सफलता पाएको बताएकी छन् । उनले गठबन्धनको निर्णय पालना गरेर परिणाम आएकाले सबै मतदाताहरुलाई आभार प्रकट गरिन् ।

उनले मतदाताहरुले राखेको अपेक्षा, विकास निर्माण, सिचाई, खानेपानी, सहरीकरण, सडक लगायतका असिमित समस्या र आशालाई आगामी दिनमा क्रमश पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् । निर्वाचन कार्यालयबाट त्रुटि भएको बताउँदै लङ्वाले भनिन् ‘ गठबन्धनले निर्णय गरेको आधारमा निर्वाचन क्षेत्र नं १ सानो प्राविधिक कारणले हामीले गुमाउन पुगेका छौ । सम्पुर्णलाई जानकारी छदैछ । परिणामले देखाएको छ । प्राविधिक कठिनाइले आगामी दिन यस सन्दर्भमा निर्वाचन आयोगले विचार पुयाउनुपर्ने देखिएको छ । बेलैमा विचार गर्नुपर्ने हिजोको शिक्षाले देखाएको छ ।’
कार्यक्रममा बोल्दै इलाम क्षेत्र नं १ को ख बाट बिजयी भएका शम्शेर राईले गठबन्धनले निकालेको लिखित प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने भएकाले इमान्दार साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पुर्व प्रधानमन्त्री झलनाथ खनाल प्रति लक्षित गर्दै भने ‘संघको परिणाम गठबन्धनको पक्षमा आउन नसक्दा उहाँ राष्ट्रिय नेताहरु मात्रै संसद प्रवेश रोकिएको छ । राष्ट्रिय राजनितिको गणित मिलाउने कुरा उहाँहरुबाटै हुने हो । क्षेत्र नं १ का मतदाताहरु भोलीको विकास निर्माणको पहल गर्नु उहाँसम्म पुग्नु नै पर्नेछ भोली हामीले गरेको मतदान ठिक भयो भएन महसुस गर्नु नै हुनेछ ।’

राईले गठबन्धन खोज्ने नेकपा एमालेलाई केही दिन पर्खन आग्रह गरे । ‘सत्तापक्षको साथीहरुले गर्न सक्ने र विपक्षले गर्ने काम फरक फरक हुन्छ । एउटाले विकास निर्माणको काम जिम्मेवारी र अर्कोले खबरदारी । र्याली निकाल्दै गर्दा सुनेकै थिए मधुरो स्वरमा सुनेको थिए यो गठबन्धन कता छ भनेर अब २२ दिन पर्खिदिनुस ७ वटै प्रदेश र संघमा सरकार बन्दै गर्दा उहाँले गर्नुभएको प्रश्नको उत्तर पाउनुहुनेछ ।’
उनले भने ‘७ वटै प्रदेश र संघका गठबन्धन सरकार बन्नेछ उहाँहरुलाई हतार लाग्यो होला हतार लागेर अलिक मान्छे भेला हुँदै गर्दा भेला भएका जुरमुराउन गठबन्धन खोज्दै हुनुहुन्थ्यो । प्रदेश १ देखि सातै वटा प्रदेशमा सरकार बन्दै गर्दा र संघ बन्दै गर्दा उतर पाउनुहुनेछ । ३ जना मध्ये २ जनाले फिक्कल बजारमा उभिएर बोल्दै गर्दा प्रतिउतर पुगेको होला ।’
कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा, नेकपा एकिकृत समाजवादी नेता एवम सूर्योदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली लगायतको आतिथ्यता रहेको थियो । नेकपा एकिकृत समाजवादी पार्टीका पेमा उगेन लामाले स्वागत गरेको कार्यक्रम माओवादी केन्द्रका प्रविन तिम्सिनाले संचालन गरेका थिए । फिक्कल बजारका कोणसभा अघि उम्मेदवारहरुले फिक्कल बजारबाट तीनघरेसम्म र्याली गरेका थिए ।