फिक्कल । आगामी मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृत कार्यक्षेत्रमा जान थालेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनका लागि आवश्यक सामग्री र बन्दोबस्तीका सामग्री बोकेर कर्मचारी मतदानस्थलमा जान थालेको हुन् । आम निर्वाचनका लागि ७२ प्रकारका चुनावी सामाग्री प्रयोग हुँदैछन् ।
निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार सियो, धागो, सुतली (डोरी) जस्ता अति सामान्यदेखि मतपत्र, मतपेटिक लगायत अति महत्वपूर्ण सामाग्री प्रयोग हुने छन् । आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको छ ।

मतदान केन्द्रमा पत्रपत्र, मतपेटिका, स्वस्तिक छाप, रंगिन र सादा मतदाता नामावाली, सुरक्षा सिल, पर्मानेन्ट मार्कर, सियो, धागो, खापसियो, सलाई, मैनबत्ती, लाहा, स्ट्याम्प, स्टिज, त्यसको पिन, फोटोकपी पेपर, नेपाली कागज, छेकाबार, रबर म्याट, सुतली लगायत सामाग्री प्रयोगमा आउने छन् ।
सेतो कपडाको बोरा, भित्र, बाहिर, महिला, पुरुष जनाउने कार्ड, कर्मचारी परिचयपत्र, उम्मेदवार प्रतिनिधि परिचयपत्र, उम्मेदवार र स्वयम्सेवक परिचयपत्र, विभिन्न अनुसूची लगायत पनि ७७ प्रकारका निर्वाचन सामाग्रीमा समेटिएका छन् । चार प्रकारका मतपत्र प्रयोगमा आउने छन् । आयोगले प्रत्यक्ष र समानुपातिकका फरक–फरक रंगमा पत्र प्रयोगमा ल्याइँदै छ ।

इलाममा ७१ वटा मतदानस्थल रहेका छन् । इलाम क्षेत्र नं १ मा १३६ र इलाम क्षेत्र नं २ मा १४९ गरी २८५ मतदान केन्द्र तयार गरिएको छ । निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले आगामी ४ गतेको निर्वाचन केन्द्रको तयारी सुरु गर्नेछन् । इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् ।

जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा १ लाख ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छ । त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ को (१) मा ५५ हजार २ सय ४७, इलाम क्षेत्र नम्बर १ को (२) मा ५२ हजार २ सय ८८ मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नम्बर २ को (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ को (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।

