इलाम : इलाम क्षेत्र नं २ मा निर्वाचनको माहोल तातिएको छ । पुर्वसभामुख सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र भएका कारण पनि इलाम–२ को परिणामलाई अर्थपुर्ण रुपमा हेरिन्छ । संघीय निर्वाचन मात्र हैन् प्रदेश निर्वाचनमा समेत उम्मेदवारहरुको बारेमा अनेक टिकाटिप्पणी सुन्नमा आएका छन् । इलाम–२ को (ख) बाट गठबन्धनका हर्क लाओती (कान्छा) उम्मेदवारको रुपमा अघि सरेका छन् ।
एमालेबाट राम बहादुर राना मगर उम्मेदवार छन् । प्रदेश सरकारको कृषि मन्त्री समेत भइसकेका राना विरुद्ध लाओतीको भिडन्तले पश्चिमी इलामको राजनीतिमा फरक अर्थ राख्छ । २०७४ को निर्वाचनमा इलाम क्षेत्र नं २ को (क) मा एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका राना अहिले आफ्नो क्षेत्र छाडेर छिमेकी निर्वाचन क्षेत्रमा सरेका छन् ।
कृषि मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रका विकासका योजनाहरु ल्याउन नसकेको आरोप खेप्दै आएका राना पराजयको डरले नयाँ क्षेत्र रोजेको चर्चा छ । नेकपा एमालेका पुर्व अध्यक्ष राना र माओवादी केन्द्र सह-इन्चार्ज विचको भिडन्तको बिजेताले पश्चिमी इलाममा नयाँ मुहार फेर्ने आश स्थानीयले राखेका छन् । इलाम–२ को (ख) मा फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा रहेका छन् ।
को हुन कान्छा
नेकपा माओवादी केन्द्रको प्रान्तीय सदस्य रहेका लाओती अन्तरमुखी स्वभाव,प्रष्ट वक्ता साथै लिम्बुवान इतिहासका खोज, अनुसन्धानमा गहिरो अध्ययन भएका चिन्तनशिल, बैचारीक र अध्ययनशिल नेता हुन् । वि.सं. २०४० साल मंसिर २३ गते चुलाचुली गाउँपालिका वडा नम्बर–५ (साविक ८) बुकुवा मा बुवा लिलाराम लाओती आमा तिलहाङमा लाओतीका कान्छा छोराको रुपमा जन्मिएका थिए ।
राजनीतिक बाहेक साहित्य,खेलकुदमा संलग्नता रहेका कान्छा लाओती कुनै बेलाका राम्रा फुटबल खेलाडी समेत थिए । बाल्यकाल देखि नै पढाईमा अब्बल रहेका कान्छाले औपचारीक शिक्षा राजनीतिक शास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेका छन् । कलेज पढ्दै देखि गुरुहरुको मार्गदर्शनबाट प्रेरित भएका कान्छा १८ बर्षको उमेरमा जनयुद्धमा होमिन पुगे । २०५८ असार १ गते बाट जनमुर्ति सेनाको रुपमा प्रवेश गरेका थिए । उनले जनयुद्धकै समयमा दुई वटा पुस्तक लेख्न सफल भएका छन् ।
२०६४ मा संघीय लोकत्रान्त्रिक गणतन्त्र नेपालको स्वरुप नयाँ नेपालको परिकल्पना नामको पुस्तक गणतन्त्र स्थापित गर्ने एउटा दर्विलो दस्तावेजहरु मध्येको एउटा भाग मान्न सकिन्छ । उनको दोस्रो पुस्तक २०६८ मा आधुनिक लिम्बुवानको रुपरेखा प्रकाशन भएको थियो ।
२०६४ सालको पहिलाे संविधान सभामा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका लाओतीलाई पार्टीले उम्मेदवारीमा अघि सारे पनि आफुमा त्यतिवेला चुनावी मैदानमा जाने अनुभव नरहेको भनाई छ । उनले भने,’ त्यो निर्वाचनमा म २५ बर्षकै उमेरमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसंग प्रतिस्पर्धा हुँदै गर्दा पनि त्यो बेला दश हजार मत प्राप्त गरेको थिए,त्यो मेरो पहिलो उम्मेदवारको अनुभव रहेको थियो ।’ उनी हाल माओवादी केन्द्र इलामको सहइन्चार्ज एवम प्रदेश कमिटि सदस्य समेत रहेका छन् ।
बुवाआमाको कुरा
आमा तिलहाङमा लाओती भन्छिन्, ‘उहिले म कन्याहुँदै ज्योतिषले भने तेरो गर्भबाट जन्मिएका एउटा छोरा राजनीतिक गर्ने नेता हुन्छ ।’ ८१ बर्षिय तिलहाङमालाई भने त्यो भावि रेखा हेर्दिने बुढाको याद भने धमिलो हुँदै गए पनि ति बुढाले भनेका अरु कुरा भने ताजै रहेको थियो । होकी जस्तो गरि ति ज्योतषको उमेर ८० बर्षको बताउँने तिलहाङमाले कुरा थप्छिन्, ‘तेरो जग्गा जमिन धेरै हुन्छ, तर तलाई ८५ बर्षको उमेर पार लगाउन गाह्रो हुन्छ ।’
छोरालाई जिताउन भोट माग्दै हुनुहन्छ ? जवाफमा भनिन्, ‘भोट र कोट लगाउँदैमा भोट जितिन्दैंन, भाग्यमा छ भने भोट मागिरहनु पर्दैन् ।’ आफ्नो श्रीमतीको कुरा सुनिरहेका कान्छाका बुवा तिलराम हाँस्दै भन्छन, ‘छोराले चुनाव जिते हामी धेरै खुसी नै हुने थियौं ।’ हातमा सल्काउँन लागेको सुर्ति मिलाउँदै भने, ‘सानैछदा देखि लेख्न पढ्नमा राम्रो थियो, सानो ठूला सवैलाई सम्मान गर्ने । अरुलाई कहिल्यै घोचेर, होच्याएर बोल्न नजान्ने साह्रै इमान्दर थियो ।’
रतुवा झोलुङ्गे पुल
विकासको हकमा चुलाचुली पालिका वडा नं. –५ बुकुवा र दमक नगरपालिका जोड्ने रतुवा झोलुङ्गे पुल लाओतीको पहलमा निर्माण गरिएको थियो । उक्त पुल बर्खाको समयमा चुलाचुली वडा नम्बर ३, ४ र ५ का जनताहरुलाई रतुवा खोलाको सास्तीबाट सहज पुगेको थियो । त्यसैगरि, रतुवा खोला तटबन्धनमा पनि लाओतीको पहलमा काम भएको देखिन्छ ।