नयाँबजार । इलाममा समेत आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको माहोल तातेको छ । हेभिवेट नेता पुर्व प्रधानमन्त्री झलनाथ खनाल र पुर्वसभामुख सुवासचन्द्र नेम्वाङको क्षेत्र भएको कारण समेत इलाम विशेष छ । अहिले इलाम क्षेत्र नं १ मा मुख्य प्रतिस्पर्धा पुर्व प्रधानमन्त्री खनाल र नेकपा एमाले इलाम अध्यक्ष महेश बस्नेतकै हो ।
अन्य केही उम्मेदवारहरु खनाल र बस्नेतसंग असन्तुष्ट बनेकाहरुको मत आफुलाई आउने विश्वासले निर्वाचनमा होमिएका छन् । सो क्षेत्रमा रोङ गाउँपालिका, सुर्योदय नगरपालिका , माइजोगमाई गाउँपालिका , सन्दकपुर गाउँपालिका, माई नगरपालिकाको वडा नं ६, ७ र ८ बाहेकका ७ वटा वडा र इलाम नगरपालिकाको १० नं वडा पर्छन ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले इलाम क्षेत्र नं १ मा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेको जनाएको छ । इलाम क्षेत्र नं १ बाट संघीय राजनीतिमा भविष्य खोज्दै कांग्रेस विपिबाट गणेश प्रसाद पौडेल समेत उम्मेदवार छन् । लामो समय शिक्षण पेशामा आवद्ध पौडेल आफू कसै विरुद्व नभएर बिकल्पको रुपमा चुनावमा भाग लिएको बताउछन ।
विपिले सिकाएको बाटो हिडेको र सधै हिडने उनले बताए । सधै भरी जितेर गएकाले माखो नमारेको कारण पनि आफ्नो उम्मेदवारी रहेको पौडेल सुनाउँछन् । अझ रोचक कुरा त झलनाथ खनाल र महेस बस्नेतको हातबाट उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट शिक्षकको अवार्ड पाएका पौडेलका प्रतिद्धन्द्धी समेत उनै २ जना छन् ।
को हुन त गणेश प्रसाद पौडेल ?
स्वर्गीय काशिनाथ पौडेल र कोमलकुमारी पौडेलको कोखबाट वि सं २०२१ सालमा जन्मिएका पौडेल २६ वर्ष सम्म शिक्षण पेशामा आवद्ध भएर अवकाश लिएका हुन् । उनले राष्ट्रिय शिक्षक दिवसमा उत्कृष्ट शिक्षकबाट पुरस्कृतका हुनुका साथै सूर्योदय नगरपालिकाबाट उत्कृष्ट प्रअ छनौट भई नगद तथा प्रशंसा पत्र समेत प्राप्त गरेका छन ।

सूर्योदय नगरपालिका–१४ को बुद्ध माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँदै निवृत भएका गणेश पौडेल नेपाल शिक्षक संघको जिल्ला सहसचिव, क्षेत्र नं १ को क्षेत्रीय अध्यक्ष समेत भएर काम गरिसकेको अनुभव छ हाल राजनीतिमा सक्रिय पौडेलले भरखरै कांग्रेस विपिको केन्द्रिय सदस्य समेत प्राप्त गरेका छन् ।