फिक्कल । आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि इलाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभा अन्र्तगतको २ वटै निर्वाचन क्षेत्रमा कार्यालय उद्घाटन गरिएको हो । इलाम क्षेत्र नं २ अन्र्तगत उच्च अदालत बारको भवनमा मूख्य निर्वाचन अधिकृत र इलाम क्षेत्र नं १ को सूर्योदय नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ ।
कार्यालय उद्घाटन गर्दै जिल्लाका राजनैतिक दलहरुलाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सहयोग गर्ने आग्रह गरिएको छ । जिल्ला अदालत इलामका न्यायधिश दिपक दाहललाई मूख्य निर्वाचन अधिकृत तोकिएको छ । त्यसैगरी इलाम क्षेत्र न १ मा राजकुमार दाहाल निर्वाचन अधिकृत रहेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज १५ गतेदेखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । सोही अनुसार इलाममा एकै दिन २ वटै क्षेत्रमा कार्यालय स्थापना गरिएको छ । यसअघिका चुनावमा जिल्लाको सदरमुकाममा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएकोमा अहिले निर्वाचन क्षेत्र अनुसार फरक फरक स्थानमा कार्यालय स्थापना गरिएको छ ।
सूर्योदय नगरपालिकामा आयोजित उद्धघाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दिपक दाहाल, इलाम क्षेत्र नं १ का अधिकृत राजकुमार दाहाल, प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना, सूर्योदय नगरपालिकाका कार्यबाहक नगर प्रमुख दुर्गा बराल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरे, शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटा, प्रमुख कोष नियन्त्रक भुमिराज भुषाल, जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरणमा फुयाँल, जिल्ला अदालतका श्रेस्तेदार फणिन्द्रराज भट्टराई लगायतको राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।