सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा निर्मित सामुदायिक भवनको उद्धघाटन गरिएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश १ अन्र्तगतको शहरी विकास तथा भवन कार्यालय इलाम मातहत निर्माण भएको भवनको संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बुले उद्धघाटन गरिन् ।

२ करोड २३ लाख ६२ हजार ४४६ रुपैयाको लागतमा वडा नं ३ को देउरालीमा निर्माण भएको भवनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । २०७६ असार ३० गते सम्झौता भई काम सुरु भएको सामुदायिक भवन सेवालुङ÷किरात जेभीले निर्धारित समयमा सम्पन्न गरेको हो । भवन उद्धघाटन गर्दै पर्यटनमन्त्री लङ्वाले निर्माणाधिन भवन ५ तलासम्म थप्न सक्ने डिजाइन भएकाले आगामी बर्ष थप संरचना बनाइने बताइन् ।

उनले सन्दकपुर क्षेत्रको पर्यटकीय गन्तव्यको विकास गर्न सवै पक्ष एकजुट हुनुपर्ने बताइन् । ‘ सन्दकपुर क्षेत्रमा बाहिरबाट आउने पर्यटकलाई सेवा सुविधा दिएर, उनीहरुलाई भ्रमणको वातावरण तयार गरेर पर्यटन शुल्क लिन सकिन्छ । पर्यटनबाट समग्र विकासलाई जोड दिएर आन्तरिक आयमा वृद्धि गर्ने भनेर प्रदेश सरकारले अघि बढाएको छ ।’ लङ्वाले सन्दकपुर क्षेत्रमा विकासका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्थापन गरेकाले भुक्तानीका लागि समस्या नहुने बताइन् । उनले खानेपानी, पर्यटन र अन्य पुर्वाधारको क्षेत्रमा विगतबाट विशेष जोड दिँदै आएको बताइन् ।

कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले गुणस्तरिय काम नगर्ने र योजनालाई ढिलासुस्ती गरेर अलपत्र पार्ने ठेकेदारलाई प्रवेश निषेध रहेको बताए । उनले प्रकृतिले अथाह सम्भावना दिएपनि व्यवस्थापन गर्न सक्दा सोचे अनुरुप सन्दकपुर क्षेत्रका पर्यटकीय गन्तव्यबाट लाभ लिन नसकेको बताए । उनले अघिल्ला सरकारले बनाएको गुरुयोजनालाई अध्ययन गरेर त्यसलाई परिस्कृत गदैै अघि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै वडा नं ३ का वडाध्यक्ष लिल बहादुर बुर्जाले सामुदायिक भवनलाई उचित संरक्षण गर्दै पालिकाको प्रयोजनको लागि उपयोगमा ल्याउने बताए । उनले भवनलाई गाउँपालिकाले महत्वपुर्ण सम्पदाको रुपमा लिएको समेत बताए । नेपाली कांग्रेसका प्रतिनिधि लिला बहादुर राईले सन्दकपुरमा पर्यटनको क्षेत्रमा काम हुन नसकेको बताए । उनले अथाह सम्भावना भएपनि पुर्ण सदुपयोग हुन नसकेको बताए ।

माओवादी केन्द्रका प्रतिनिधि प्रेम नाछिरिङ राईले संघीयतापछि सन्दकपुर क्षेत्रमा विकासले गति लिएको बताए । उनले स्थानीय तह पुर्न संरचनाको क्रममा सन्दकपुरलाई छुट्टै क्लस्टर बनाउँदा आन्दोलन गरेको स्मरण गर्दै अहिले नमुना क्षेत्रको रुपमा विकास हुँदै गएको बताए । देउराली बजार व्यवस्थापन समितिका अध्यक्ष धनप्रकाश राईले पालिकाको सम्पतीको रुपमा रहेको भवनलाई संरक्षण गर्दै अधिकतम उपयोगमा ल्याउन सवै सन्दकपुरबासीको कर्तव्य भएको बताए । उनले वर्तमान अध्यक्षको प्रस्तावमा आएको नाम अहिले पहिचान भएको समेत बताए ।

नेकपा एकिकृत समाजवादीका तेज बहादुर लुङ्गेलीले सामुदायिक भवन समयमा निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै यसलाई उपयोग गरेर जनतालाई सहजता प्रदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै निर्माण कम्पनीमा प्रोपाइटर गणेश राईले आफ्नै घर जस्तो ठानेर भवन निर्माण गरेको बताए । उनले गुणस्तरितामा कुनै पनि सम्झौता नगरि उच्च स्तरका सामाग्री प्रयोग गरेर काम गरिएको बताए । भवन डिभिजनका इन्जिनियर अनिल यादवले लागत र भवनको स्टिमेटको बारेमा धारणा राखेका थिए ।

गुणस्तरिय काम गरेको भन्दै पालिकाले राईलाई खदा ओडाएर सम्मान समेत गरेको छ । गाउँपालिकाको कार्यालय संचालन गर्ने उद्धेश्यले निर्माण गरिएको भवनमा आवश्यक शाखाहरु संचालन गर्ने तयारी भएको छ । पालिकामा अन्य शाखाहरु स्थापनाका लागि कोठा अभाव भएकाले शाखाहरु व्यवस्थापन गरि जनतालाई सहज सुविधा दिने गाउँपालिकाले लक्ष्य राखेको छ ।

गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले विकासको सम्भाव्यता भएको सन्दकपुर क्षेत्रको प्रगती ५ बर्षपछि मात्र देखिने बताए ।उनले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर रहेकाले विकासका हरेक कार्य गर्न सहज रहेको बताए ।

उनले कृषि, शिक्षा, स्वास्थ्य, पुर्वाधारलाई प्राथमिकतामा राख्दै समृद्ध पालिका बनाउने कार्यमा सवैसंग सहकार्यमा अघि बढेको बताए । कार्यक्रमको संचालन प्रशासकिय अधिकृत धन नारायण श्रेष्ठले गरेका थिए ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेश राई, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

पर्यटकीय महत्व रहेको गाउँपालिकामा प्रदेश सरकार मातहतबाट अन्य भवन र विकासका कार्यक्रमहरु संचालनमा रहेका छन् । प्रदेश सरकार मातहतबाट निर्माण सम्पन्न भएको धुवा खोलाको पुल केही दिन अघि मात्र उद्धघाटन गरिएको थियो ।
