इलाम । राष्ट्रिय भुमि आयोग जिल्ला समितिले जिल्लाका १९ जना भूमिहिनहरुलाई लालपूर्जा वितरण गरेको छ । इलाम सदरमुकाममा आज पत्रकार सम्मेलन गर्दै आयोगले आउने असोज सम्ममा थप दुई सय जना भूमिहिन र अव्यवस्थितहरुलाई जग्गाको लालपूर्जा वितरण गरिने जानकारी दिएको छ।
भुमि आयोग इलामका अध्यक्ष भक्त केसीले हाल यो आयोगले तिव्र रुपमा काम अगाडी बढाएको बताए। उनले निर्वाचनका आचारसंहिताले काम गर्न नमिल्ने भएकाले आचारसंहिता नलाग्ने हो भने भूमि सम्वन्धी धेरै समस्या तत्काल हल गर्न सक्ने अवस्थामा आफुहरु रहेको बताए ।
स्थानीय तहहरुले नै सुरुको काम गर्नु पने भएकाले जिल्लाका दुई स्थानीय तहमा काम अगाडी बढ्न नसकेको बताइएको छ । हालसम्म जिल्लाका आठवटा स्थानीय तहमा अभिमुखीकरण र कामको सुरुवात गरिएको जनाइएको छ । देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाले सुरुको कामको थालनी नै नरहेको अध्यक्ष केसीको भनाई छ ।
पालिकाको पूर्ण सहयोगमा आयोगले काम गरीरहेको जनाउँदै रोङ गाउँपालिकाको वडा नम्बर १ र २ मा जग्गाको नापजाँचको काम करिब अन्तिम चरणमा पुगेको बताइएको छ । जग्गा नापजाँचको क्रममा रोङ गाउँपालिकामा नम्बरी जग्गा भएका ब्यक्तिहरु समेत ऐलानी जग्गामा बसोबास गरीरहेको र उनीहरुलाई समेत जग्गा उपलब्ध गराउने गरी नापजाँचको काम भइरहेको भन्दै स्थानीयहरु नै असन्तुष्ट बनेका छन् । तर आयोगका जिल्ला अध्यक्ष केसिले नम्बरी जग्गा भएर पनि ऐलानी जग्गामा दशबर्षदेखि बसेर भोगचलन गर्दै आएकालाई पनि ७५ प्रतिशत सम्म दिन सकिने ऐन नियममा नै भएकाले नापजाँच गरीएको स्पष्ट पारे ।
देशमा सरकार परिवर्तन हुने बित्तिकै भूमि आयोग समेत परिवर्तन हुने गरेको छ । हाल कार्यरत समिति २४ औँ समिति हो । एउटा आयोगले गरेका कामहरु अर्को आयोगले परिवर्तन गरेर सुरुवात देखी नै गर्ने परिपाटी रहेकाले हालसम्म यस्ता आयोगले धेरै काम भने गर्न सकिरहेको छैन ।
आयोगका बिज्ञ सदस्य श्याम खड्गीका अनुसार अब्यबस्थित बसोबास, सुकुम्बासि समस्या लगायतको समस्या सबै पालिकामा रहेको छ । त्यसमध्ये पनि चुलाचुली, रोङ गाउँपालिका र माई नगरपालिकामा बढि समस्या देखिएको छ । यसको समस्या समाधानका लागि आयोग लागिरहेको उनले बताए ।