इलाम । आगामी भाद्र ३१ गते हुने उच्च अदालत बार एसोसिएसन इलामको निर्वाचनमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले गठबन्धन गरेका छन् । आगामी २ बर्षको लागि नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस निकट डिएलएले नेकपा एमाले निकट पिपिएलएसंग नयाँ समिकरण बनाएको हो ।
त्यसैगरी माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन (आरपिएलए) एक्लै चुनावमा होमिने भएको हो । गठबन्धनका तर्फबाट अधिवक्ता उत्तम पौडेल अध्यक्षका रुपमा रहेका छन् । त्यसैगरी आरपिएलएका तर्फबाट तारानिधि घिमिरेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट अध्यक्षका प्रत्यासी पौडेलले निर्वाचनमा गठबन्धन गरेको स्विकार गरे ।
त्यसैगरी डिएलएका सचिव तथा सदस्यका प्रत्यासी जिवन कोइरालाले सहमती अनुसार एमाले निकट वकिल संगठनलाई अध्यक्षको रुपमा सर्मथन गरिएको बताए । उनले भने ‘ पिपिएलए र डिएलएले अघिल्लो निर्वाचनमा सहमती गरेर आलोपालो चलाउने भनिएकाले यस पटक अध्यक्षको हामीले पाएका हौ ।’ उनले भने ‘ अर्को संगठन आरपिएलए सहमतीका लागि चासो नदेखाएकाले २ संगठनले उम्मेदवारी दर्ता गराएका हौ । हामीले एसोसिएसनका अध्यक्ष भाष्कर पोखरेललाई वार्ताको लागि जिम्मेवारी दिएका थियौ ।’
यता आरपिएलएबाट केन्द्रिय पार्षदका प्रत्यासी घिमिरेले अन्तिम समयसम्म सत्ताधारी कांग्रेस निकट संगठनसंग सहमतीको पहल गरेपनि एमाले निकट संगठनसंग गठबन्धन गरेपछि उम्मेदवारी दर्ता गराएको बताए । उनले गठबन्धनले उम्मेदवारी दर्ता गराएपछि आफुहरुले दर्ता गरेको बताए ।
निर्वाचनमा गठबन्धनको पिपिएलएबाट उपाध्यक्षमा विद्या सापकोटा,सचिवमा लोकबहादुर तामाङ, कोषाध्यक्षमा प्रदिप अधिकारी, सदस्यमा जसबहादुर लुङ्गेली, अशेष मगर, सुधिर बोहरा र केन्द्रिय पार्षदमा मणिराम निरौला उम्मेदवार रहेका छन् । त्यसैगरी डिएलएबाट अध्यक्ष पौडेल सहित सदस्य हिरण्य प्रसाद अधिकारी, तिर्थराज खतिवडा, जिवन कोइराला र केन्द्रिय पार्षदमा भाष्कर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी एकल रुपमा होमिएको आरपिएलएबाट अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सहित उपाध्यक्ष भीमप्रसाद रिजाल र केन्द्रिय पार्षदमा तारानिधि घिमिरेले उम्मेदवारी दर्ता गराए । उच्च अदालत विराटनगर इलाम इजलासमा जसपा र एकिकृत समाजवादी निकट वकिलहरु भएपनि उनीहरुले उम्मेदवारी दर्ता गराएका छैनन् ।
बार एसोसिएसनको निर्वाचनमा ६३ जना मतदाता रहेका छन् । एसोसिएसनमा ९ जनाको कार्य समिति र ३ जना पार्षद चुनिने छन् ।