इलाम । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा एकिकृत समाजवादीले उम्मेदवार सिफारिस गरेको छ । नेकपा एसले प्रतिनिधिसभा दुवै क्षेत्रमा १ जना महिला सहित ३ जना सिफारिस गरेको छ । एसले इलाम क्षेत्र नं १ अन्र्तगत झलनाथ खनाल सहित डम्बरसिंह गदाल र सावित्रा गड्तौलाको नाम सिफारिस गरेको हो ।
त्यसैगरी क्षेत्र नं २ मा रामचन्द्र पराजुली, पुर्ण बहादुर बस्नेत र प्रमिला बस्नेतको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ (क) मा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बु सहित ६ जनाको नाम सिफारिस गरेको पठाएको छ । पार्टीले केन्द्रिय सदस्य राममाया राई, जिल्ला कमिटी सदस्य मुना राई, जिल्ला अध्यक्ष भक्त केसी, केन्द्रिय सल्लाहकार सदस्य लालबहादुर सुब्बा र जिल्ला कमिटी सचिवालय सदस्य जित बहादुर राईको नाम सिफारिस गरेको हो ।
माईजोगमाई गाउँपालिकाका निर्वतमान अध्यक्ष जितबहादुर राई यसअघि माईजोगमाई गाउँपालिकामा गठबन्धनको तर्फबाट पुनः अध्यक्षको निर्वाचनमा होमिएर पराजित बनेका थिए । खिनु लङ्वा २०७४ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई दोब्बर मतान्तरले हराउँदै प्रदेश सांसद बनेकी थिइन् । राजेन्द्र राईको नेतृत्वमा बनेको सरकारमा उनी हाल संस्कृति तथा पर्यटनमन्त्री छन् ।
क्षेत्र नं १ (ख) मा जिल्ला सदस्य मुना राई, केन्द्रिय सल्लाहकार सूर्यबाला राई, टेकबहादुर राई, जिल्ला सचिवालय सदस्य वृहस्पती खतिवडा, पुर्ण प्रसाद ढुङ्गाना, तारा नेपाल र शम्भु दाहालको नाम सिफारिस गरेको हो । सूर्यबाला माओवादी केन्द्र छाडेर नेकपा एसका प्रवेश गरेका हुन् । उनी यसअघि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट झलनाथ खनालसंग पराजित भएका थिए ।
२०७० मा माओवादीले उनलाई समानुपातिक सांसद बनाएको थियो । नेकपा एमालेबाट झलनाथ खनाल र माधव नेपाल छुटिएपछि राई नेकपा एस प्रवेश गरेका हुन् । प्रदेशसभाको इलाम क्षेत्र नं २ (क) मा केन्द्रिय कमिटी सदस्य रामचन्द्र पराजुली, जिल्ला सचिव हरि बाला राई, युवा संघका उपमहासचिव सन्जीव राई र कृष्ण गुरुङ र मुना शर्मालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
क्षेत्र नं २ (ख) मा केन्द्रिय परिषद सदस्य मिसन चाम्लिङ, जिल्ला कमिटी उपसचिव सोम शर्मा, जिल्ला सदस्य हर्क साँवा र मुना शर्माको नाम सिफारिस गरेको हो ।
