Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका चिया कृषक उज्यालो खसैसँगै साँझ नढल्किएसम्म बगानमै

इलामका चिया कृषक उज्यालो खसैसँगै साँझ नढल्किएसम्म बगानमै

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २५ २०७९


इलामका चिया कृषक उज्यालो खसैसँगै साँझ नढल्किएसम्म बगानमै

इलाम : यतिबेला हरियो चियापत्ती उत्पादनको मुख्य मौसम हो । चिया कृषक उज्यालो खसैसँगै साँझ नढल्किएसम्म बगानमै भेटिन्छन् । आयस्रोतको प्रमुख साधन चिया भएकोले कृषकलाई दायाँबायाँ गर्ने फुर्सदै हुँदैन । चिया बगानमा हिउँदयाममा खासै काम नहुने तर बर्खायाममा भने अहोरात्र खट्नुपर्ने भएकाले किसानहरू ‘छ महिना काम छ महिना आराम’ भन्ने गर्छन् ।

हरेक परिवारका बगान हुने गरेकाले सबैको व्यस्तता उस्तै हुन्छ । अन्य खेतीमा जस्तो रोपेर गोडमेल गर्ने र बाली उठाउने जस्तो चियामा हुँदैन । पलाएको केही दिनमा चिया टिपेन भने मुना फर्केर बिक्री हुँदैन । पछिल्लो समयमा चिया क्षेत्रमा सबैभन्दा ठूलो समस्याको रूपमा श्रमिक अभाव देखिएको छ । पर्याप्त श्रमिक नपाइएकै कारण कृषक आफै अहोरात्र मेहनत गरिरहेका हुन्छन् ।

श्रमिक अभावमा परिवारै बगानमा निस्कनुपर्छ । आलोपालो मिलाएर पर्मअर्म नगरी निर्वाह चल्दैन । सूर्योदय नगरपालिका–३ जिलका जीवन शर्माको बुझाइमा पनि उत्पादन बढाउन र गुणस्तरीय बनाउन श्रमिकको अभाव नै हो । १० रोपनी चिया बगान भएमा कम्तीमा ३ जना निरन्तर टिपाइमा खट्नुपर्छ । चिया विकास निगमसहित ठूला बगान भएका कम्पनीका आफ्नै श्रमिक छन् । तर कृषकस्तरमा नियमित श्रमिक राख्न संभव नहुँदा अर्मपर्म नै विकल्प हो ।

गाउँघरमा अर्मपर्मको चलन हराउँदै गएको छ । घरमा जन हुनेले सानातिनो खेती गर्ने नत्र कम मेहनत लाग्ने नगदेबाली र फलफूल लगाउने चलन बढेको छ । तर चिया कृषकलाई भने हुर्किएको बगान मास्न पनि मन नहुने अनि नियमित टिपाइ र स्याहर्न कठिन हुने गरेको हो । ‘निश्चित घरबीच आलोपालो पत्ति टिप्ने व्यवस्था गरिन्छ,’ अन्तुका केशव घिमिरेले भने, ‘अर्मपर्म गरेरै भए पनि कसैको पनि पत्ति हुर्किएर जान दिएका छैनौं ।’ घरमा उपलब्ध जनशक्ति जति पर्ममा निस्कने चलन छ ।

चैतदेखि कात्तिकसम्म चिया टिपाइको काम हुन्छ । जिल्लाका विभिन्न स्थानमा चिया बगान बढ्दै गएका छन् । तर यहाँबाट वैदेशिक रोजगारीका लागि विदेश जानेसहित पढाइ र अन्य रोजगारीका लागि गाउँ छाड्ने क्रम पनि उत्तिकै छ । ‘धेरै मुना पलाउने फस्टफ्ल्स, रेनी जस्ता सिजनमा धेरै कामदारको आवश्यता हुन्छ,’ केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले भने, ‘यो अवस्थामा यहाँका कृषकले अर्मपर्मबाट सबैको बगानलाई हुर्कनबाट जोगाएका छन् ।’

टिप्न मात्र नभएर मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता काममा कृषकको व्यस्तता चुलिँदो छ । थोरै मेहनत गर्दा हुने अरू खेती छाडेर चियामा लागेका कृषक श्रमिकको अभाव र व्यस्तता बढेसँगै दिक्दारी पनि मान्न थालेका छन् । कतिपय कृषकले कामदार नपाएकै कारण अर्कैलाई वयस्क भएको बगान अधियामा दिएर बसेका छन् ।

चिया श्रमिकको प्रत्यक्ष अभाव भोग्दै आएका कृषकले अहिले भने उपकरणको प्रयोग बढाएका छन् । यहि झन्झटबाट मुक्ति पाउन कतिपय कृषकले १ लाख रुपैयाँसम्म खर्चेर मेसिनको प्रयोग गरेका छन् । मेशीन चलाउने सहित पत्तिलाई बटुल्न २ जना आवश्यक हुन्छ । तर मेसिनको प्रयोग गर्न सबै कृषकलाई सजिलो भने छैन । यी यन्त्रको भाइब्रेसन र आवाज थेग्न दुब्लो पातलोलाई निक्कै कठिन हुने प्रयोगकर्ता बताउँछन् ।

श्रमिकको अभाव टार्नुपर्ने बाध्यता भएपछि कष्ट झेलेर पनि यन्त्र चलाउनुपरेको प्रयोगकर्ताहरूको भनाइ छ । चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार इलाममा ८ हजार ८ सय ७६ चिया कृषक छन् । जिल्लामा ७ हजार २ सय ३६ हेक्टरमा चिया खेती गरिएको छ । इलामबाट वार्षिक ६४ लाख ३१ हजार किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । नयाँ बुलुन्द

प्रतिक्रिया
सम्बन्धित समाचार