Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गुणस्तरिय शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै सूर्योदयको बजेट

गुणस्तरिय शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै सूर्योदयको बजेट

  • नमीन ढकाल
  • शनिबार, साउन १४ २०७९


गुणस्तरिय शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै सूर्योदयको बजेट

इलाम । पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७९÷९० का लागि दिगो विकास र शैक्षिक उन्नयनको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकिकरण गरेको छ । गुणस्तरिय शिक्षा र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै नगरले १ अर्व ३५ करोड ७९ लाख ९७ हजार रुपैया बराबरको चालु आर्थिक बर्षमा कार्यान्वयन हुने कार्यक्रमहरु आज (शनिबार) सार्वजनिक गरेको हो ।

गत असार ९ गतेको नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम समावेश भएको राजपत्र र ऐन नियमावली तथा कार्यविधिहरु प्रदेश १ को पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले सार्वजनिक गरिन् । जिल्लाको पहिलो नीति, बजेट तथा कार्यक्रमहरु सार्वजनिकिकरण गर्ने स्थानीय तह बन्दै सूर्योदयले चालु आर्थिक बर्षमा गुणस्तरिय शिक्षा, उद्योग नविन खोज र पुर्वाधारका करिब ५८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

नगरले सेवा प्रवाहमा मितव्ययिता अपाउने नीति लिँदै खानेपानी सरसफाई, जनस्वास्थ्य पोषण, युवा तथा खेलकुद, महिला बालबालिका, सामाजिक संरक्षण र समावेशीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । सूर्योदयले सामाजिक विकासका लागि ४६ करोड भन्दा बढि बजेट विनियोजन गरेको छ । शिक्षा, भाषा तथा संस्कृति संरक्षणको लागि ३३ करोड भन्दा बढिको बजेट नगरले आगामी आर्थिक बर्षमा कार्यान्वयनमा ल्याउने छ ।

नगरले आर्थिक विकासका लागि २२ करोड ७५ लाख रुपैयाको कार्यक्रम अघि सारेको छ । पुर्वाधार विकासको लागि ४३ करोड ६६ लाख, संस्थागत विकास र सुशासनमा १८ करोड ८५ लाख र वन वातावरण तथा विपद व्यवस्थापनका लागि ३७ करोड २३ लाख भन्दा बढिको कार्यक्रमलाई अघि सारेको छ । नगरले प्रशासनिक खर्च १३ करोड ६३ लाख रुपैयाँमा सीमित गरेको छ ।

दिगो र सन्तुलित विकासको लक्ष्य निर्धारण, राजनीतिक दल, स्थानीय र कर्मचारीको एकीकृत समन्वयात्मक प्रयास, औचित्यमा आधारित अनुसन्धानमूलक कार्यक्रम, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति सूर्याेदयको लक्ष्यमा समेटिएका छन् । त्यस्तै, सीमान्तकृत र लोपोन्मुखको समावेशी सहभागिता, प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता प्रवद्र्धन, समग्र पूर्वाधार प्रविधिमा नवीनताको विकास, उत्तरदायी, तटस्थ र सक्षम प्रशासन, युवालक्षित खेलकुद र उद्यमशीलता तथा विकास र समृद्धिको पहिचान दिने नगरपालिकाका रूपमा सूर्याेदयलाई परिचित गराउने लक्ष्य नगरले राखेको छ ।

प्रदेश १ को संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वाले सूर्योदयले ल्याएको बजेट लैंगिक आधारमा बनाइएकाले कार्यान्वनयका लागि उत्कृष्ट रहेको बताइन् । उनले प्रदेश सरकारकारले एक गाउँ एक उत्पादन अन्र्तगत इलामलाई छुर्पीको क्षेत्रको रुपमा अघि बढाइने बताइन् । लिम्बुले छुर्पीको विविधिकरणको कार्यक्रमहरु अघि बढाउन आग्रह गरिन् ।

उनले नेपाली चियाको परिक्षण केन्द्र नहुँदा बर्सेनी समस्या भोग्दै आएको उल्लेख गर्दै प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा २ बर्ष देखि चिया परिक्षण केन्द्र बनाइएको बताए । ‘ टी टेस्टिङ सेन्टर २ बर्ष अघिबाट निर्माण थालिएको छ । आगामी बर्ष सम्पन्न भएपछि नेपाली चिया परिक्षण गरि अन्तराष्ट्रिय बजारमा पठाउन सहज हुनेछ ।’ उनले भनिन् ‘ काँकडभिट्टा–पशुपतिनगर–मानेभञ्ज्याङ नाका क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि समन्वयात्मक ढंगले अघि बढाउन प्याकेजको रुपमा अघि बढाइएको छ ।’

उनले पर्यटन र धार्मिक क्षेत्रमा बजेटबाट सम्बोधन नभएपनि प्रदेश सरकारले आफ्नो कार्य क्षेत्र भित्र परेकाले पर्याप्त बजेट विनियोजन गरेको बताइन् । नगर प्रमुख रणबहादुर राईले विनियोजित बजेट नगरको समृद्धि, शैक्षिक उन्नयन, कृषि र पर्यटन प्रर्वद्धनलाई मुख्य प्राथमिकतामा राख्दै अघि बढेको बताए । उनले दिर्गा पुर्वाधारको विकास गर्दै नगरले सामाजिक विकासलाई अघि सारिएको बताए । ‘ चालु आर्थिक बर्षमा बजेट बनाउँदा मध्यमकालिन खर्च संरचना हेरेर बनाइएको छ । मध्यमकालिन खर्च संरचनाका आधारमा यहाँका अन्तर वस्तुलाई हेरेर बैज्ञानिक बजेट बनाइएको हो ।’ उनले भने

नगर प्रमुख राईले इलामको छुर्पीले अन्तराष्ट्रिय बजारमा समेत चर्चा पाएकाले यसको प्रर्वद्धन गरिने बताए । ‘चिया राष्ट्रको पहिचान बन्यो चियाको राजधानी नै हो । अमेरिका र क्यानडामा निर्यात भएको छुर्पीलाई युरोपमा डगच्यु पठाउन खोरतमुक्त पालिका बनाउन सक्दा निर्यात हुन सक्छ । नगरले अन्य पालिका भन्दा पनि खोरतमुक्त बनाएर युरोप पठाउन पहल भइरहेको छ ।’

नगरले सम्पती कर भुक्तानी, सिफारिस, सुची दर्ता र अन्य पत्रहरु दर्ता अब अनलाइनबाटै गर्ने प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले बताए । उनले आजबाट नगरले अनलाइन सेवा पोर्टल सुरु गरेको जानकारी दिए । भट्टराईले नगरबाट पाउने सेवा सुविधाका लागि अनलाइन मार्फत लिन सकिने बताए ।

बजेट सार्वजनिकीकरण कार्यक्रममा संविधानसभा सदस्य लीला श्रेष्ठ, माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, जिल्ला समन्वय समिति उपाध्यक्ष चित्रकला बराइली,प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गेल, नेपाली कांग्रेसका सभापति जिवन नेपाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा, सूर्यबाला राई, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवास, सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

नगर उपप्रमुख दुर्गाकुमार बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमका वक्ताले सूर्योदय नगरले ल्याएको बजेट, नीति तथा कार्यक्रम नगरको विकासमा कोसेढुंगा हुने प्रतिक्रिया दिए । कार्यक्रमको कृषि, शिक्षा, स्वास्थ्य, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान दिने ४८ जनालाई सम्मान समेत गरिएको थियो । साथै अनिवार्य अवकाश प्राप्त कर्मचारीलाई समेत विदाई गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार