इलाम । गएको बैशाख ३० गते भएको स्थानी तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा एमालेले पार्टी सचिव देखी बिभिन्न तहमा रहेका ब्यक्तिहरुलाई कारबाही गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।
चुनावमा असहयोग गरेको भन्दै पाटी इलामका जिल्ला सचिव उमेश गुरुङलाई कारबाही गरेको हो । उनले गएको चुनावमा सन्दकपुर गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिएका थिए । पछि उम्मेद्धारी फिर्ता लिए पनि उनलाई पार्टीले कारबाही गरेको छ । त्यस्तै पार्टी सचिवालय सदस्य तथा इलाम नगरपालिका नगर इन्चार्ज बद्री खड्कालाई समेत कारबाही गरेको छ ।
सन्दकपुर गाउँपालिकाका पार्टीका उपाध्यक्ष चन्द्र राई, फाकफोकथुम गाउँपालिका पार्टी कमिटी उपाध्यक्ष लोकबहादुर थापा र माई नगरपालिका नगर कमिटी सचिवालय सदस्य मोहन देवानलाई कारबाही गरिएको जनाइएको छ ।
त्यस्तै चुनावमा प्रदेश कमिटीमा रहेका केही ब्यक्तिलाई समेत कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको छ । जिल्ला कमिटीले शेरधन राईको संयोगकत्वमा गठित प्रदेश छानविन आयोगलाई कारबाहीका लागि केही प्रदेश सदस्यहरुको नाम सिफरिस गरेको हो ।
जिल्ला कमिटीका एक सदस्यले दिएको जानकारी अनुसार जिल्लाले स्थानीय तहमा रहेर असहयोग गरेका ब्यक्तिहरुलाई समेत कारबाही गर्न निर्देशन दिएको छ । गएको निर्वाचनमा अन्तर्घातका बिषयमा छानविन तथा समिक्षा गरेर कारबाहीको आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो ।
पार्टीले गएको निर्वाचनलाई ब्यापक समिक्षा गरि आउने मंसिरमा हुने संघीय तथा प्रदेश चुनावमा ससक्त भएर निर्वाचनमा होमिने निर्णय समेत गरेको छ । पूर्ण कमिटी बैठकले बिभिन्न निर्णय गरेको छ । कारबाहीमा परेका ब्यक्तिहरुको नाम सामाजिक सञ्जाल तथा मिडियामा नलैजाने समेत निर्णय भएको थियो ।
पार्टीले चुनावमा टिकट वितरणमा आफ्ना मान्छे पारेको भन्दै एकथरी एमाले कार्यकर्ता अझै असन्तुष्ट देखिएका छन् ।