Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रदेशसभामा एमाले सांसदको ‘गुहार, गुहार’‍……

प्रदेशसभामा एमाले सांसदको ‘गुहार, गुहार’‍……

  • लोकल सन्देश
  • आइतबार, साउन ८ २०७९


प्रदेशसभामा एमाले सांसदको ‘गुहार, गुहार’‍……

विराटनगर : ‘गुहार, गुहार’ भन्दै प्रदेशसभामा नेकपा एमालेका सांसद सर्वध्वज साँवा गर्जिएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा उनले आफ्नो भनाइ राख्ने क्रममा ‘गुहार गुहार’ भन्दै शुरु गरेका थिए।
प्रत्येक पटक बोल्दा सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाइरल बनेका सांसद साँवाको क्रियाकलापप्रति कतिपय सांसदले मर्यादाभन्दा बाहिर रहेको प्रतिक्रिया दिएका छन्।

उनको अभिव्यक्ति ‘नेचुअल’ भन्दा पनि ‘आर्टिफिसयल’ अर्थात् बनावटी धेरै भएको एक सांसदले बताए। ‘उहाँ बोल्दा थोरै मदर टोन अर्थात् मातृ भाषाले प्रभाव पारेको पनि हो’‚ उनले भने, ‘कति चाहिँ उहाँले बनावटी पनि गर्नुभएको हो। त्यही अभिव्यक्तिलाई सभ्य भएर पनि दिन सकिन्छ।’

सांसद साँवाले भनेका थिए, ‘गुहार, गुहार, गुहार भन्न चाहन्छु किन कि अहिले १ नम्बर प्रदेशका हामी माननीयहरूलाई बलिको बोका पाठापाठी बनाउन आँटेको छ।’ उनले कहिले मुख्यमन्त्री घेरामा पर्ने बताउँदै कहिले सभासद्हरू घरघरमा घेराबन्दीमा पर्ने गरेको बताए।

उनले बाटोमा, चोकचोकमा पनि घेराबन्दी तोडेर छड्के लागेर बैठकमा आएको बताए। ‘अहिले हामी छड्के, छड्के परेर यहाँ आइपुगेका छौँ किनरु’‚ उनले प्रश्न गर्दै भने, ‘किन भन्दा प्रदेशको नामकरणलाई लिएर अहिले सडकमा आन्दोलन भइरहेका छन्। त्यसो हुनाले योबाट खतरा भयो हामीलाई बचाउन पर्‍यो।’

उनले प्रदेशको नाम कोसी राख्नुस् भन्ने धम्की आउने गरेको बताए। उनले अर्को चुनावमा आदिवासी शून्य बनाउने धम्की आउने र अर्को समूहले किरात लिम्बुवान नराख्दा अर्को चुनावमा कोसीमा बगाउने खालका धम्कीको घेराबन्दीमा पर्ने गरेको उनले बताए।

पछिल्लो समय प्रदेश १ को नामकरणको विषय दलहरूबीच एकमत नहुँदा प्रदेशको नाम पेचिलो बन्दै छ। ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ भने नाम के जुराउने भन्ने अझै अन्योलमै छ।
प्रदेशसभाको कार्यकालको अवधि अब ४ महिना मात्र बाँकी छ।

यो अवधिमा नै प्रदेश १ को नाम जुराउन यतिवेला प्रदेश १ का सांसद र सरकार कसरतमा जुटेका छन् भने पहिचानवादी विभिन्न संघसंस्था भने प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।थाहाखबरबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार