इलाम । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन्। काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको हाे।
फाकफाेकथुम गाउँपालिकाकाे प्रमुख प्र शासकिय अधिकृत दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र असलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव रहेका छन्।
त्यसैगरी, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन भएका छन्। त्यस्तै, विनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह–कोषाध्यक्ष चयन भएका छन्।
भेलामार्फत सुजित चौधरी, विकास श्रेष्ठ, नवीद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु सदस्य चयन भएका छन्।
भेलाले कृष्टि रोका मगरको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ। विजय मोक्तान र गौतम बुढामगर समितिका सदस्य रहेका छन्।
हाल तदर्थ समितिको रुपमा गठन गरिएको महासंघले आगामी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने नव निर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिए।
अध्यक्ष लिम्बूका अनुसार महासंघमा ८ भन्दा धेरै जातीय कर्मचारी संगठनहरु आबद्ध रहेका छन्।