Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा ट्राफिक व्यवस्थापन जटिल बन्दै

फिक्कलमा ट्राफिक व्यवस्थापन जटिल बन्दै

  • लोकल सन्देश
  • शनिबार, साउन ७ २०७९


फिक्कलमा ट्राफिक व्यवस्थापन जटिल बन्दै

फिक्कलः सूर्योदय नगरपालिकाको केन्द्र मानिने फिक्कल बजारलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापनको माग उठ्दै आएको छ । पर्यटकीय नगरीमा पार्किङ अभावका कारण सवारी व्यवस्थापनमा समस्या हुँदै आएको छ । बढ्दो सवारी साधनको चाप, सडकलाई ढाकेर राखिएका पसल, अव्यवस्थित पार्किङ, सांघुरो सडक, साप्ताहिक हाटबजार आदि कारणले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

नगरमा आयोजना हुने कार्यक्रममा ट्राफिक प्रहरी, जनप्रतिनिधि, यातायात व्यवसायी, होटल व्यवसायी लगायतले सवारी व्यवस्थापनको बारेमा गम्भिर चासो राख्दै आएका छन् । नगरले सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै ट्राफिक व्यवस्थापनको बारेमा चासो व्यक्त गरेको छ ।

वडा नं १० का वडाध्यक्ष पेमा उर्गेन लामा (भाईचुङ) ले पटक–पटक यसरी छलफल चलाउँदै आएपनि समस्याको समाधान हुन नसकेकोमा दुःख व्यक्त गरेका छन्। लामाले समस्या देखाएर मात्र नहुने भन्दै समाधानको विकल्पमा जानुपर्ने बताए। सडकलाई फराकिलो बनाईएपनि ट्राफिक व्यवस्थापन हुन नसक्नुमा सबै पक्ष जिम्मेवार रहेको उनले बताए।

लामाले सवारी साधनलाई जथाभावी रोक्न नदिन र आवश्यक नियमन गर्न ट्राफिक प्रहरीको भुमिका अझ सशक्त हुनुपर्ने धारणा राखे। सवारी चालकले स्टेनमा मात्र सवारी रोक्ने र तोकिएको ठाउँमा पार्किङ गरेमा समस्या समाधान हुँदै जाने बताएका छन् । ट्राफिकको विभागिय समस्या भए सम्वन्धित विभागमा गुनासो गर्नुपर्ने तर स्थानीय सरकारको निर्णय कार्यान्वयनमा ट्राफिक प्रहरीको भुमिका कमजोर हुन नहुने लामा बताउँछन् ।

उनले सडकको क्षेत्राधिकार ढाकेर गरिएका व्यापार व्यवसाय नगरप्रहरीले हटाउने भन्दै सडक नमिच्न आग्रह गरेका छन् उनका अनुसार वडाले तत्काल सुचना जारी गरि त्यस्ता व्यापार व्यवसाय र पसल हटाउने छ । सूर्योदय नगरपालिका प्रदेश नम्बर एक कै पर्यटकीय नगरी भएकाले फिक्कललाई सुन्दर र व्यवस्थित बनाउन सवैको समान भुमिका रहने भएकाले एकले अर्कालाई आरोप लगाएर पन्छिन नमिल्ने लामाले दावी गरेका छन् ।

उनी भन्छन्, ‘ पर्यटकीय नगरी जोक होइन यस्को अपनत्व सवैले स्विकार्नुपर्छ ।’ सवारी चालकलाई सूर्योदयमा पर्यटकीय स्थलहरू कुनकुन छन् ,त्यस्का विशेषता के छन् र अवलोकनको आवश्यकता किन छ भन्ने कुरा जानकारी भए पर्यटकलाई रोक्न सकिने लामा बताउँछन्। मिठो बोलि वचन,नम्र व्यवहार र शिष्टाचार देखाउन सके हाम्रो ठाउँमा पर्यटक अढिन सक्ने उनको भनाई छ ।

फोहोर व्यवस्थापन, साप्ताहिक हाटबजारका समस्या,भाडादरमा देखिएको असमानता, पार्किङ, जस्ता समस्यालाई सरोकारवालाले गम्भीर रूपमा उठाएका थिए । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख बलराम गिरीले सबै दोष ट्राफिकलाई आउने भएपनि पार्किङको अभाव, साँगुरो सडक जस्ता कारणले भिडभाड बडेको र नियन्त्रण गर्न गाह्रो हुने गरेको सुनाए ।

उनले जनप्रतिनिधिले समस्या समाधानमा भुमिका खेल्नुपर्ने बताएका छन्। यसैगरी प्रहरी पोष्ट फिक्कलका इन्चार्ज टिका नेपालले जथाभावी लत्रिएका तार, सडकलाई ढाकेर राखिएका पसल, सवारीको अव्यवस्थाका‌ कारण दुर्घटनाको जोखिम बढेको बताए। उनले ट्राफिक जनशक्ति कम भएकाले कतिपय अवस्थामा समस्या हुनेगरेको पनि बताए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक फिक्कलका प्रमुख खगेन्द्र कन्दङ्वा,सनराईज जिप तथा ट्याक्सी प्रा लि का अध्यक्ष बिनोद मोक्तान, अन्तु सूर्योदय ट्याम्पु यातायात प्रा लि का अध्यक्ष सन्तोष मोक्तान, होटल व्यवसायी प्रविन तिम्सिना लगायतले आ आफ्नो धारणा राखेका थिए । मोक्तानले ट्याम्पुले दोहोरो कर तिर्नुपरेको बताउँदै सडकमा खाल्डाखुल्डी धेरै भएको तर पुनः निर्माणको काम नभएको बताए।

उनले नगरपालिकाले सडक विभागलाई देखाउने गरेको भन्दै समन्वय गरिदिनुपर्ने जनाएका छन् । व्यवसायी तिम्सिनाले ट्राफिक व्यवस्थापन संग सम्बन्धित सरोकारवालाको टिम बनाएर खास समस्या पहिचान हुने गरि सर्वेक्षण गरिनुपर्ने र मात्र समाधान भेटिने धारणा राखेका थिए।

सवारी व्यवस्थापन सम्वन्धमा छलफल पछि निश्चित गाडी मात्र स्टेसनमा राखेर अन्यलाई पार्किङ गराईने र पालोमा ओहोरदोहोर गराउने सहमति भएको छ। सहमतिलाई कडाईका साथ कार्यान्वयन गरिने भएकाले सवारी चालकले सोही बमोजिम यात्रु ओसारपसार गर्न गराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो पनि

यातायात व्यवस्थापनको बिषयमा सुर्योदय नगरपालिका र ट्राफिक बिच छलफल

यातायात व्यवस्थापनको बिषयमा सुर्योदय नगरपालिका र ट्राफिक बिच छलफल

प्रतिक्रिया
सम्बन्धित समाचार