फिक्कल । इलामको सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि प्रविधियुक्त अभियान संचानल थालेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सूर्योदयले विविध कार्यक्रमहरुलाई तिव्रता दिँदै आएको छ । नगरले सामुदायिक विद्यालयलाई प्रविधि तर्फ आर्कषित गराउन कम्प्युटर, प्रिन्टर इ–प्यानल बोर्ड लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक बिद्यालयमा १÷१ थान कम्प्युटर र १÷१ थान प्रिन्टर ४ वटा बिद्यालयमा प्रयोगशाला ल्याव सामग्री , २ वटा बिद्यालयमा गणित प्रयोगशाला सामग्री प्रदान गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत बौद्धधाम मावि , जनक माध्यमिक बिद्यालय, बौद्ध र पञ्चकन्या आधारभूत बिद्यालयलाई प्रयोगशाला सामग्री प्रदान गरिएको छ ।
फिक्कल र ज्योति माबिलाई गणित प्रयोगशाला सामग्री र करफोक बिद्यामन्दिर माबिलाई बिशेष कक्षा संचालनका लागि प्राविधिक सामग्री बितरण गरिएको छ । कक्षा १–५ मा ‘हाम्रो सूर्योदय’ नामक स्थानीय पाठ्यक्रम अनुसार निर्माण गरिएको पुस्तक वितरण गरिएको छ । सूर्योदय नगर क्षेत्रमा रहेका सामुदायिक र संस्थागत बिद्यालयमा स्थानीय पाठयक्रम लागु गर्ने गरी ‘हाम्रो सूर्योदय’ बितरण गरिएको छ । ५ हजार बिद्यार्थीले उक्त पुस्तक पाउने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए ।
९० लाख रुपैया बराबरका सामग्री वितरण गरिएको उनले बताए । सूर्योदयमा माध्यमिक र आधारभुत गरी ६६ वटा सामुदायिक बिद्यालय रहेका छन् । ६१ प्रतिशत बिद्यार्थी सामुदायिक बिद्यालयमा रहेको भट्टराईले बताए । नगर शिक्षा शाखाको तथ्यांक अनुसार सामुदायिक बिद्यालयमा बर्सेनी बिद्यार्थी भर्ना दर बढ्दै गएको पाइएको छ ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले नगरले शिक्षा क्षेत्रमा नगरको बजेट मध्ये २५ प्रतिशत खर्च गरिदै आएको बताए । उनले आगामी आर्थिक बर्षका लागि ३५ करोड रुपैयाँ शिक्षा क्षेत्रमा बिनियोजन गरिएको जानकारी दिए । नगर प्रमुख राईले भने ‘आईसीटी माध्यमबाट बालवालिकालाई प्रविधिमैत्री बनाउनु पर्छ ।’ उनले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि तेस्रो पक्ष बिज्ञ टोलीले अनुगमन गरिने जानकारी दिए ।
‘प्राविधिक शिक्षामा जोड दिएर गुणस्तरमा सुधार ल्याउनु पर्छ ’ नगर प्रमुख राईले भने । नगरले पेपरलेस अभियान समेत थालेको बताउँदै राईले आगामी दिनमा नगरका कुनै सिफारिस समेत हस्तलिखत नचल्ने बताए । उनले अनलाईनबाट सेवा सुरु गरिने जानकारी दिए । कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बरालले बितरण भएका सामग्रीको सहित तरिकाले सदुपयोग गर्न बिद्यालयलाई आग्रह गरे ।
उनले शिक्षा क्षेत्रको संवेदनशिल कार्यक्रममा वडाध्यक्ष नआएको भन्दै आक्रोस व्यक्त गरे । उप प्रमुख बरालले भने ‘सडक निर्माणको कार्यक्रम भएको भए सबै वडाध्यक्षको तातीलाग्ने थियो , शिक्षाको संवेदनशिलता नबुझी नगर कसरी अगाडी बढ्छ ?’
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक डिक बम्जन र वडा नम्बर ४ का वडाध्यक्ष शरण राई मात्र सहभागी थिए । वाँकी १२ जना वडाध्यक्ष उक्त कार्यक्रममा सहभागी थिएनन । बरालले नगरले यति धेरै लगानी शिक्षामा गरेपछि नराम्रो काम गर्नेलाई दण्ड सजाय र राम्रो काम गर्ने बिद्यालयलाई पुरस्कारको ब्यवस्था गरिने जानकारी दिए ।
कार्यक्रममा शाखा प्रमुख भट्टराईले प्रविधिमा जोड्नका लागि बितरण गरिएका सामग्री अभाव भएका बिद्यालयलाई अर्को कार्यक्रममा बितरण गरिने जानकारी दिए । उक्त कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक बम्जनले नगर क्षेत्रका बिद्यालयको शैक्षिक सुधारका लागि नगर योजना बनाएरै अगाडी बढ्ने बताए ।
कार्यक्रममा भवानी आधारभूत बिद्यालयका प्रधानाध्यापक रचना राईले नगरले हस्तान्तरण गरेका सामग्रीले धेरै बिद्यालयलाई राहत पुग्ने बताइन् । उनले यस्ता सामग्री वितरण गर्दा टप टु बटम भन्दा पनि बटम टु टपको अवधारण अपनाउनु पर्ने बताइन् । बौद्धधाम माबिका प्रधानाध्यापक किरण मोक्तानले प्रविधि हस्तान्तरणले सिकाई उपलब्धी हासिल गर्न सहज हुने बताए ।
सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि बिभिन्न अभियान संचालन गर्दै आएको छ । नगरले करफोक बिद्यामन्दिरमा मात्र छोरीबुहारी शिक्ष कार्यक्रम अन्तगत बर्षेनी २५ लाख खर्च गरेर निशुल्क शिक्षा प्रदान गर्दै आएको छ । कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक नविन पौडेलले गरेका थिए ।